Logo

नेपाल चिकित्सक संघको अध्यक्षका स्वतन्त्र उम्मेदवार सिलवाल नेतृत्व परिवर्तनको पक्षमा



काठमाडौं, पुस २०। नेपाल चिकित्सक संघको आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन हुँदैछ। नयाँ नेतृत्वको लागि उम्मेदवारी दिएको स्वतन्त्र समूहले बुधवार माईतीघर मण्डलामा पत्रकार सम्मेलनको आयोजना गरेको छ।

सो सम्मेलनमा अध्यक्षका स्वतन्त्र उम्मेदवार डा. शिवजी विक्रम सिलवाल, महासचिव अमृत भुषाल, चेतन बसन्यातलगायतको उपस्थिति रहेको थियो। सो सम्मेलनमा बोल्दै अध्यक्षका उम्मेदवार सिलवालले भने, ‘डाक्टरको अध्ययन सकाएपछि एक वर्षको अनिवार्य काम गरी अनुभव बनाएपछि मात्रै एमडी पढ्न पाउने र छात्रवृत्तिमा डाक्टर पढेपछि सरकारले २ वर्ष लगातार काम गर्नुपर्ने जुन व्यवस्था गरेको छ, त्यो व्यवस्था खारेज गर्नुका साथै चिकित्सा शिक्षा आयोगले लिने परीक्षाको म्याद २ वर्षको हुनुपर्छ।’

यसअघिका नेतृत्वले संघमा रहदा एकलौटी चलेको, डाक्टरको हितमा काम नगरेको र पदमा दोहोरिन मात्र चाहेको भन्दै नेतृत्व परिवर्तनको आवाज बनेर स्वतन्त्र उम्मेदवार अघि बढिसकेको उनले बताए। संघको नेतृत्व परिवर्तन गरि नयाँलाई अवसर दिनुपर्ने आवाज यसअघि पनि पटक–पटक उठिसकेकाले चिकित्सकहरुको हकहित र अधिकार स्थापित गरि महत्वपूर्ण भुमिका खेल्न स्वतन्त्र समूह सक्षम रहेकाले नै अगाडि आएको उनको भनाई छ। यसपटकको निर्वाचनमा चिकित्सकहरूको हकहितमा लाग्नेहरूलाई प्राथामिकता दिएर भोट दिनसमेत उनको अपिल छ।

स्वतन्त्रलाई पुराना चिकित्सकदेखि सक्रिय युवा चिकित्सकको साथ रहेकोले निर्वाचनमा स्वतन्त्रको जित सुनिश्चित रहेको दाबी गर्दै उनले सहकर्मी चिकित्सकहरूलाई निजी हस्पिटलले श्रमशोषण गर्दा राज्यले तोकेको श्रमऐन अनुसार सेवा सुविधा दिन भूमिका नसक्नेलाई संघको नेतृत्व नदिने प्रष्ट पारे।

स्वतन्त्र समूहबाट सहउपाध्यक्षका लागि मधेश प्रदेशबाट डा. अजय मिश्र, महासचिवमा डा. अमित भुसाल, सदस्यमा डा. चेतन बस्नेत र डा. मोहम्मद अनामुल हँकिको उम्मेदवारी रहेको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने भएको छ। यसपटक संघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेसनिकट प्रजातन्त्रवादी समूहबाट डा अनिलविक्रम कार्की उठ्दा एमालेनिकट प्रगतिशील समूहबाट डा सन्तोष पौडेलको उम्मेदवारी दर्ता गरेका छन्।

नर्भिक अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञको रुपमा कार्यरत डा. शिवजी विक्रम सिलवालको स्वतन्त्र उम्मेदवारी दुवै समुहलाई चुनौती थपिएको छ। संघको केन्द्रीय कार्यकारिणी समितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, एक सह-सचिव, एक कोषाध्यक्ष, एक सह–कोषाध्यक्ष र ६ सदस्यसहित १९ जना रहने व्यवस्था छ। संघको निर्वाचनका लागि विभिन्न पदमा ४१ जनाले उम्मेदवारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot