काठमाडौं, २१ पुस । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता भरतबहादुर खड्काले गठबन्धनको असफलताको पाठलाई अवसरका रुपमा लिनुपर्ने औंल्याएका छन् ।
‘गठबन्धन टुटेपछि पार्टीका हजारौं कार्यकर्ता, शुभचिन्तक र मतदाता स्तब्ध छन् । पार्टीलाई ठूलो नोक्सान भएको छ । एक त अप्राकृतिक र अपवित्र खालको गठबन्धन गर्नै हुँदैनथ्यो किनभने कम्युनिस्टहरु र हाम्राबीचमा मूल्य र मान्यता नै फरक छन् । गठबन्धन नगरेको भए कांग्रेसको पक्षमा बेटर जनमत बन्थ्यो । तर नगर्नु गरिसकेपछि गठबन्धन जोगाउन सक्नुपथ्र्यो । यसमा पार्टीका नेतृत्व चुकेकै हो । कांग्रेसले गठबन्धनको अससफलताबाट पाठ लिएर अवसरका रुपमा उपयोग गर्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खड्काले भने ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को अस्थिर प्रवृत्तिलाई बेलैमा नचिन्नु कमजोरी भएको पनि उनले बताए । खड्काले थपे, ‘गठबन्धन सत्ताका लागि मात्र गरिँदैन, नीति, सिद्धान्त, विचारका लागि मात्र पनि हुन्छ । प्रचण्ड एकठाउँमा बस्ने मानिस होइनन् । उनमा अस्थिर प्रवृत्ति छ । उनी सत्तालिप्सामा लागेको मानिस हो । उनलाई बेलैमा नचिन्नु नेतृत्वले गरेको ऐतिहासिक भूल हो ।’
कांग्रेसले आगामी पाँच वर्ष सरकार ढाल्ने खेलमा लाग्नु नहुने पनि उनले औंल्याए । खड्काले भने, ‘कांग्रेसले निर्वाचनको निर्मम समीक्षा गर्नुपर्छ । राजनीतिक स्थायित्व, आर्थिक सुधार दिने सवालमा प्रमुख शक्तिका रुपमा अगाडि बढ्नुपर्छ । सरकारका राम्रा कामलाई समर्थन गर्दै प्रखर प्रतिपक्षका रुपमा रहनुपर्छ । पार्टीभित्र पनि सन्तुलन कायम गर्नुपर्छ । अब सरकार ढाल्ने खेलमा लाग्नुहुँदैन । पुस २२ लाई तोकिएका कांग्रेस केन्द्रीय समितिको निर्वाचन समीक्षा बैठके पुस २८ का लागि सारिएको छ ।’
आवेगमा आएर विशेष महाधिवेशन बोलाउनु नहुने पनि खड्काको भनाइ छ । उनले भने, ‘विशेष महाधिवेशन बोलाएर सही व्यवस्थापन गर्न सकेनौं भने नेपाली कांग्रेस कहाँ पुग्छ ? त्यसैले क्षणिक आवेगमा आएर आग्रह, पूर्वाग्रहमा आएर त्यस्तो गर्नुहुँदैन । अबको महाधिवेशन एकताको महाधिवेशन बन्नुपर्छ ।’