काठमाडौँ,२१ पुष । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ८२ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सिरक उपलब्ध गराइएको छ । महिलासँग उपप्रमुख कार्यक्रम अन्तरगत लफ्याङका ५० वृद्धवृद्धालाई बुधबार जाडोमा ओढ्ने फाइबरको सिरक उपलब्ध गराइएको हो ।
जिल्लामा अत्यधिक चिसो बढेकाले जाडो छल्न वृद्धवृद्धालाई फाइबरको सिरक प्रदान गरिएको महिला तथा बालबालिका शाखा प्रमुख इरन राईले बताए । महिलासँग उपप्रमुख कार्यक्रमअन्तर्गत रु एक लाख ५० हजार बराबरको सिरक प्रदान गरिएको नगरपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।
दिक्तेल बहुमुखी क्याम्पसलाई पूर्वविद्यार्थी मञ्चको पुस्तक उपहार
दिक्तेल बहुमुखी क्याम्पसका पूर्वविद्यार्थीले क्याम्पसलाई पुस्तक उपहार स्वरुप उपलब्ध गराएका छन् । डा धनप्रसाद सुवेदी नेतृत्वको दिक्तेल बहुमुखी क्याम्पस पूर्वविद्यार्थी मञ्चले क्याम्पसलाई रु २४ हजार छ सय ४१ बराबरको पुस्तक उपहारस्वरुप उपलब्ध गराएको हो ।
विभिन्न दाताबाट जुटाइएको २३ प्रकारका एक सय आठ थान पुस्तक मञ्चका उपाध्यक्ष राजेन्द्र राईले क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद रिजाललाई हस्तान्तरण गरे । क्याम्पसका विद्यार्थीलाई पाठ्यक्रम र सन्दर्भ सामग्रीका रुपमा उपयोग हुने किसिमका पुस्तक सङ्कलन गरेर प्रदान गरिएको मञ्चले जनाएको छ । मञ्चले साझा कथा, ‘नासो’, ‘ऋतुविचार’, ‘राजेश्वरी’, ‘सुलोचना’, ‘नरेन्द्र दाइ’, ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, ‘भाषा पाठ्यक्रम’, ‘प्रयोगिता भाषा विज्ञान’लगायतका पुस्तक प्रदान गरेको छ । मुन्धुम अध्येता भोगीराज चाम्लिङ, डा विष्णुकुमार सिंजाली, बम बानियाँ र राजुविक्रम चाम्लिङको सहयोगमा क्याम्पसका लागि पुस्तक जुटाइएको मञ्चका उपाध्यक्ष राईले जानकारी दिए ।रासस