Logo

पशुपतिको धर्मशालामा सेवाका नाममा व्यापार



काठमाडौं, पुस २२ । अमालकोट कचहरी र सेवा समितिबीच २०६० जेठ १२ गते विशुद्ध सेवाका लागि धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता भए पनि सम्झौताको १९ वर्षपछि पशुपति गौशाला धर्मशाला अघोषित व्यापारिक केन्द्र भएको छ । पशुपतिनाथ मन्दिर आउने दर्शनार्थीका लागि सञ्चालित धर्मशालामा लज चलाइएको छ ।

सहुलियतमै लज चलाए पनि सेवा समितिले १९ वटा सटरबाट कार्यविधिबिनै चर्को भाडा असुली गरिरहेको छ । पशुपति गौशाला धर्मशालामा पसल सञ्चालन गर्ने स्याङ्जाका श्रीधर न्यौपानेले ३० हजार रुपियाँभन्दा बढी मासिक भाडा तिर्छन् । उनले भने, “दुई वर्षमा सम्झौता नवीकरण गर्नुपर्छ । मैले १४ वर्षदेखि पसल चलाइरहेको छु । भाडा चर्को छ ।”

धर्मशालामै ट्राभल्सका सञ्चालक अच्युत चापागाईंले पनि कार्यालय चलाएको १० वर्ष भयो । उनले मासिक ३५ हजार रुपियाँ भाडा तिरेका छन । सेवा समितिका अध्यक्ष कैलाशचन्द्र गोयलले १९ मध्ये १८ वटा सटर भाडामा लगाइएको बताए । उनले धर्मशालाबाट उठ्ने भाडा पारदर्शी रहेको दाबी गरे । उनले भने, “हामीले यत्रो सेवा गरिरहेका छौँ । तपाईं भाडाको कुरा गर्नुहुन्छ? प्रक्रिया मिलाएको छ, अफिस आउनुस्, देखाउँला ।” गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्