Logo

प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकारको स्वरूप दिन सकिन्छः एमाले महासचिव



काठमाडौं, २२ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा केही गरौं भन्ने हुटहुटी भएको दाबी गरेका छन् ।
‘प्रचण्डजीमा नयाँ चेत आएको अनुभूति मलाई भएको छ । म दुईपटक प्रधानमन्त्री भएँ, काम देखाउन पाइनँ, अब काम गर्छु भनेर लाग्नुभएको छ । रवि लामिछाने र राजेन्द्र लिङदेन पनि जनतामा सपना जगाएर आउनुभएको छ । काम गर्ने गरी जोडिनुभएको छ । सीके राउत, रेशम चौधरीको पार्टीमा पनि केही गरौं भन्ने भावना छ । एमाले त समृद्धि र विकासको नेतृत्वदायी पार्टी नै हो । त्यसैले यो काम गर्ने हुटहुटी भएको सरकार हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने । सरकारको समीकरण एकले अर्काेलाई नियन्त्रण र सन्तुलन गर्ने खालको भएकाले राजनीति गलत बाटोमा जाने सम्भावना नभएको उनको तर्क छ ।
प्रचण्डको नेतृत्वमा सरकार बनाउनहुन्न भन्ने तपाईं नै होइन भन्ने धमलाको प्रश्नमा पोखरेलले भने, ‘मैले त्यसो भन्या थिइनँ । चुनावमा हामीले पनि बहुमत पाएनौं, गठबन्धनले पनि पाएन । हामी नजोडिईकन विकल्प प्राप्त हुँदैनथ्यो । त्यसैले हामीले एमाले र कांग्रेसलाई नै एमालेसँग सहकार्यको प्रस्ताव लिएर आउनुस् भनेका थियौं । कांग्रेसले त्यसको रेस्पोन्स गरेन । शेरबहादुर देउवाले दलको नेता नभईकन अरु विषयमा छलफल गर्दिनँ भन्नुभयो, भएपछि गठबन्धन कायम राख्ने प्रयासमा लाग्नुभयो ।’

‘ओलीले देउवासँग बदला लिनुभएको होइन’
पोखरेलले विगतमा माओवादी केन्द्र र नेकपा एमालेबीचको तिक्तता जायज नभएको पनि औंल्याए । उनले भने, ‘नेतृत्व तहको विवाद नीतिगत थिएन । स्वार्थमा आधारित थियो । शक्ति संघर्षमा आधारित थियो । शक्ति र सत्तासंघर्षको परिणाम तिक्ततामा बदलियो । नीतिगत हिसाबले हिजो बेठीक भएको थियो भनेर मैले माओवादीको सम्मेलनमै भनेको हुँ ।’
एमाले महासचिव पोखरेलले केपी शर्मा ओलीले शेरबहादुर देउवालाई बदला लिएको भन्ने कुरा अतिरञ्जना मात्र भएको टिप्पणी गरे । उनले भने, ‘देउवाको अडान र प्रचण्डको महत्वाकांक्षाका कारण गठबन्धन भत्कियो । त्यो गठबन्धनको तिरन्तरता मुलुकको हितमा थिएन । यो गठबन्धन भत्किनुको श्रेय देउवालाई नै जान्छ ।’

‘कांग्रेसले विश्वासको मत दिनुपर्छ’
उनले पुष्पकमल दाहाल (प्रचण्ड) प्रचण्ड सरकारलाई कांग्रेसले विश्वासको मत दिनुपर्ने पनि औंल्याए । पोखरेलको तर्क छ, ‘प्रचण्डले कांग्रेसकै भोटले जित्नुभएको हो । कांग्रेसले पनि प्रचण्डहरुकै भोटले जितेको हो । त्यसैले प्रचण्डलाई विश्वासको मत दिनु के कुरा अप्ठ्यारो हो र ? मलाई लाग्छ, यो सरकारलाई सबैले विश्वासको मत दिनुहुन्छ ।’
आफ्नो पार्टी राष्ट्रिय सहमतिको सरकार बनाउन तयार रहेको पनि उनले बताए । पोखरेलले भने, ‘कांग्रेसले यो सरकारलाई बाहिर बसेर समर्थन गर्छ भने पनि ठीकै छ । तर राष्ट्रिय सहमतिको सरकार आवश्यकता होइन बाध्यता हो । विकास र समृद्धिका लागि नीतिगत नेतृत्व नै चाहिन्छ ।’ प्रचण्ड नेतृत्वको सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने उनको धारणा छ ।
मुलुकको राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमाले मिल्नुपर्नेमा पनि उनले जोड दिए । पोखरेलले भने, ‘अहिले मुलुकमा राजनीतिक स्थायित्वको चुनौती छ । कांग्रेस स्थायित्वको नेतृत्व गर्न इच्छुक नभएपछि दोस्रो विकल्प दोस्रो विकल्प तयार भयो । हामीले चुनावका समयमा पनि कांग्रेसलाई मिलेर जाऔं, स्वस्थ प्रतिस्पर्धामा जाऔं भनेका हौं । किनभने नेपाली कांग्रेस र एमाले हाराहारीको जनमत भएको पार्टी हौं । त्यसरी लडेका भए १९, २० को अवस्था हुन्थ्यो । कांग्रेसले एक्लै लडेको भए अहिलेको भन्दा धेरै सिट जित्थ्यो । अरु पार्टी कमजोर भएर आउँथे । उसले हाम्रो राम्रो प्रस्ताव लत्यायो ।’

नेपाली कांग्रेसले वर्तमान सरकारको विकल्प खोज्नु हानिकारक हुने पनि पोखरेलले बताए । उनले थपे, ‘यसपटक निर्वाचनमा कांग्रेसको ७ प्रतिशत र एमालेको ६ प्रतिशत मत घटेको छ । नयाँ पार्टीहरुको थ्रेट छ । कांग्रेस प्राविधिक रुपमा ठूलो हो । अरुको भोट जोडिएर ठूलो भएको हो । जनताको रोजाइको पार्टी एमाले नै हो । ७७ जिल्लामध्ये ४४ र सात प्रदेशमध्ये ६ प्रदेशमा एमाले पहिलो भएको छ ।’

‘माधव नेपाल एक्लिनु स्वाभाविक हो’
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल आफ्नै कारण राष्ट्रिय राजनीतिमा एक्लिएको पनि उनले बताए । पोखरेलले भने, ‘उहाँले पहिले हाम्रो प्रस्ताव अवज्ञा गर्नुभयो । अहिलेको नयाँ समीकरण उहाँहरुको चाहनाका कारण बनेको होइन । त्यसैले उहाँको पार्टी सरकारमा जाने वा नजाने प्रश्नै छैन । साथै उनले संघीयता खारेजी गर्न संविधानले अनुमति नदिने स्पष्ट पारे । उनलेथपे, यो संविधानको सपथ खाएर बनेको संसदले राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना गर्न सम्भव छैन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot