Logo

भूमिगत सिँचाइ प्रणाली उद्घाटन



काठमाडौँ,२२ पुष । पश्चिम चितवनको जगतपुरमा एक सय ६० बिघा जग्गाका लागि भूमिगत सिँचाइ प्रणालीको उद्घाटन गरिएको छ । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाले निर्माण गरेका चार सिँचाइ प्रणालीको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेको हो ।

रु तीन करोड ४७ लाख ३१ हजारको लागतमा निर्माण गरिएका ती सिँचाइ प्रणालीको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले कृषिलाई आधुनिकीकरण गर्ने क्रममा सिँचाइ प्रणाली आवश्यक रहेको बताइन् । महानगरले अहिलेसम्म पाँच सय ६२ स्यालो ट्युवेल निर्माण गरिदिएको उनले बताइन् । यस वर्ष पनि महानगरबाट एक सय वटा स्यालो ट्युवेल वितरण गर्ने उनले जानकारी दिइन् । सिँचाइको अभावमा स्थानीयले खेप्नु परेको समस्या समाधानका लागि कोसेढुङ्गा साबित भएको उनको भनाइ थियो ।

उनले भनिन्, “हिउँदमा समेत सिँचाइको व्यवस्था हुने गरी गरिएका यी आयोजनाले जनताको समस्या समाधान गर्ने विश्वास लिएको छु ।” कृषिको प्रचुर सम्भावना भएको यस ठाउँमा सिँचाइको अभाव भएको उनले बताइन् । दीर्घकालीन हिसाबले नारायणी सिँचाइ आयोजना अघि बढाइएको उनले जानकारी दिइन् । कृषि क्षेत्रको विकासका लागि महानगर लागिपरेको उनले बताइन् ।

चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले हालसम्म चार हजार बिघा (दुई हजार पाँच सय हेक्टर) क्षेत्रफलमा सिँचाइ पु¥याइएको जानकारी दिइन् । विसं २०७७ मा स्थापना भएको सो कार्यालयले जिल्लाको १० हजार पाँच सय हेक्टर क्षेत्रफलमा बाह्रै महिना दिगो भरपर्दो सुलभ सिँचाइ पु¥याउने लक्ष्य लिएको छ । यसका लागि रु चार अर्ब ६४ करोडको आयोजना रहेको उनले जानकारी दिइन् । हालसम्म कार्यालयले ६० ठूला डिप ट्युववेल सिँचाइ प्रणाली र तीन सय २५ स्यालो ट्युबवेल निर्माण कार्य सम्पन्न गरेको उनले बताइन् ।

कार्यालयले चितवन र मकवानपुरका विभिन्न पालिकामा काम गर्दै आएको छ । आयोजनाको भरतपुर महानगरपालिका तथा रत्ननगर, कालिका, राप्ती र खैरहनी नगरपालिका कार्यक्षेत्र हो भने वार्षिक कार्यक्रमले तोकेअनुसार चितवनको माडी र मकवानपुरसमेत हेर्दै आएको उनले जानकारी दिइन् । रासस

 

 

 

 



प्रतिक्रिया दिनुहोस्