Logo

शीतलहरले मधेसको जनजीवन प्रभावित



काठमाडौं, पुस २३ । पश्चिम तराईको नेपालगञ्जमा पाँच दिनदेखि घाम लागेको छैन। बिहान–बेलुका शीतलहरको ठिही बढ्दो छ।

एकातिर घाम नलाग्ने समस्या र अर्कोतिर शीतलहरको मारले जनजीवन अस्तव्यस्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनले भने, “चोक–चोकमा दाउरा बालेर न्यानो बनाउँदै छौँ, आवश्यक परेकालाई न्यानो कपडा बाँडिरहेका छौँ।”

मध्यतराईको बारा जिल्लाको अवस्था पनि नेपालगञ्जको जस्तै छ। शीतलहर चलिरहेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने, “घामको मुख देख्न पाइएको छैन, चोकचोकमा दाउरा बालेरै ज्यान जोगाउन लागिपरेका छौँ।”

सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पनि शीतलहरबाट मानिसको ज्यान जोगाउन स्थानीय तहलाई दाउरा र न्यानो कपडा वितरण कार्यलाई सक्रिय बनाइएको बताए। पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार चार दिनदेखि घाम झुल्केको छैन।

स्थानीय तह र सुरक्षाकर्मीसमेत चोकचोकमा दाउरा पु¥याउन व्यस्त रहेको जानकारी दिए। पूर्वको सुनसरी र मोरङको तराई भेगको अवस्था पनि शीतलहरमय बन्दैछ। स्थानीयवासी न्यानोको खोजीमा घरदैलो अगाडिको सरकारको मुख ताक्न बाध्य छन्।

शीतलहरले आक्रान्त बनेको जनजीवन सहज बनाउन चोकमा दाउरा बाल्नुको विकल्प स्थानीय र सङ्घीय सरकारले देखेको छैन। चोकमा आगो तापुन्जेल न्यानो हुन्छ तर घर फर्केपछि सिरेटोमा रात बिताउन बाध्य छन् स्थानीय बासिन्दा। फुसको घर र न्यानो कपडाको अभावले धेरै जना जाडोयाममा रातभर निदाउन सक्दैनन्।

तराईका चोक–चोकमा घुर (परालको आगो) बालेर ताप्ने परम्परागत चलन छ। त्यही चलनलाई बढावा दिँदै हिउँदको शीतलहरमा सङ्घीय सरकार र स्थानीय सरकारले पनि चोक–चोकमा दाउरा उपलब्ध गराएर चिसो भगाउने प्रयत्न गरिरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारीहरू बताउन्छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्