Logo

देशकै सबैभन्दा ठूलो सहकारी राजश्रीको निक्षेप संकलन १४ अर्ब बढी



बखतियार अलि–

सर्लाही, २३ पुष । देशकै सबै भन्दा ठूलो तथा १९ हजार जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिन सफल सर्लाहीको मलंगवामा रहेका राजश्री सेविंग्स एण्ड क्रेडिट को–आपरेटिभ सोसाइटी लिमिटेडको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार मलंगवामा आयोजित एक समारोहबीच राजश्रीको साधारणसभा सम्पन्न भएको हो । पुर्वमन्त्री तथा सांसद रामचन्द्र रायले कार्यक्रमको प्रमुख आतिथ्य जनाउदै पानसमा बत्ति बालेर राजश्रीको २२ औँ वार्षिक साधारणसभाको उद्घघाटन गरेका थिए । संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र प्रसाद यादवले आर्थिक वर्ष २०७८÷०७९ को आय–व्यय प्रस्तुत गरेका थिए ।

अध्यक्ष यादवले प्रस्तुत गरेको वासलातमा उल्लेख भए अनुसार संस्थाको एक वर्षको अवधिको निक्षेप संकलन १४ अर्व ३५ करोड ३७ लाख ८६ हजार रुपैयां रहेको बताए । साथै, १२ अर्ब ४ करोड ५२ लाख ६ हजार रुपैया ऋण लगानी भएको बताइएको छ । संस्थाले सोही आर्थिक वर्षमा १२ करोड ९६ लाख ३५ हजार ४ सय ८५ रुपैयां नाफा कमाएको उल्लेख गरे ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रबन्ध निर्देशक राम लक्षण रायले राजश्री नाफामा गएको संस्था रहेको र यसलाई नाफामा पुर्याउन सम्पुर्ण कर्मचारी, सेयरधनी, बचतकर्ता, फिल्ड कर्मचारीहरुको ठूलो योगदान रहेको बताए । सोही अवसरमा संस्थाको तर्फबाट कार्यकारी अध्यक्ष यादवले सबै भन्दा बढी ७ करोड १६ लाख १२ हजार ५५० रुपैया निक्षेप असुल गरेर उत्कृष्ट फिल्ड कर्मचारी बन्न सफल भएका मलंगवाका खुशीलाल यादवलाई कदरपत्र र पुरस्कारद्वारा सम्मानित गरेका थिए ।

यादवसंगै ६ करोड ६० लाख ६२ हजार ४९२ रुपैया निक्षेप असुल गरेर दोस्रो स्थान हासिल गरेका सतिश मल्लिक र ४ करोड ४५ लाख ९९ हजार १७५ रुपैया निक्षेप असुल गरेर तेस्रो स्थान हासिल गर्न सफल भएका संतोष साहलाई पनि कार्यकारी अध्यक्ष यादवले कदर पत्र र पुरस्कारद्वारा सम्मानित गरिएको थियो । पूर्व सांसद रामचन्द्र रायको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेश सांसद कौशल किशोर राय, पुर्व सांसद लक्षमण राय, मधेश प्रदेश दलित आयोगका सदस्य राम प्रवेश बैठा, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, संस्थाका उपाध्यक्ष सत्यनारायण अग्रवाल, संचालक समितिका सदस्य, विभिन्न सेवा केन्द्रका कार्यालय प्रमुख, कर्मचारी, सेयरधनी, बचतकर्ता तथा पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जेसिज माध्यमिक विद्यालय मलंगवाका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot