Logo

प्रवासीका लागि आरक्षित आईपीओमा देखिएन आकर्षण



काठमाडौं, पुस २५ । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को आरक्षित धितोपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको आकर्षण न्यून देखिएको छ । प्रवासमा रहेका कामदारले भने विदेशबाटै अनलाइनमार्फत बैंकमा रेमिट्यान्स (विप्रेषण) बचत खाता खोल्नुपर्ने बाध्यता, त्यसका झन्झटिला प्रावधान र समयमै सीआरएन नम्बर प्राप्त गर्न नसक्दा आरक्षित आईपीओमा आवेदन दिन नपाएको गुनासो गरेका छन् ।

गत कात्तिक १७ गतेदेखि लागू हुने गरी आईपीओको धितोपत्रमा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई १० प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । त्यस्तो शेयरमा विदेशमा कार्यरत नेपालीले दिएको आवेदन संख्या हेर्दा निकै कम भएको देखिएको हो ।

पछिल्लो समय दुई कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई पनि आईपीओ बाँडफाँट गरेका छन् । मायाखोला हाइड्रोपावर र कालिञ्चोक दर्शनले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरेका हुन् । कालिञ्चोक दर्शनले गत मङ्सिर १४ गतेदेखि २८ गतेसम्म विक्री गरी पुस २० गते प्रवासी नेपालीलाई आईपीओ बाँडफाँट गरेको हो । कालिञ्चोक दर्शनले प्रवासी नेपालीसँगै आयोजना प्रभावित स्थानीयलाई पनि आईपीओ बाँडफाँट गरेको छ ।

कालिञ्चोक दर्शनले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ करोड ८ लाख रुपैयाँ बराबरको १ लाख ८ हजार कित्ता शेयर विक्री गरेको हो । यो कम्पनीको आईपीओ खरीदका लागि ५ हजार २५९ जना प्रवासी कामदारले आवेदन दिएको विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको भनाइ छ । कालिञ्चोक दर्शनको शेयर वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले २० कित्तासम्म हात पारेका छन् ।

त्यस्तै मायाखोला हाइड्रोपावरले मङ्सिर २३ देखि पुस ८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ४० हजार कित्ता आईपीओ विक्री खुला गर्दा ८ हजार २५७ जनाले आवेदन दिएको विक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । मायाखोला हाइड्रोपावरको आईपीओ बढी पाउनेले ३० कित्तासम्म पाएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ५५ लाखभन्दा बढी नेपालीले श्रमस्वीकृति लिएका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार श्रमस्वीकृति लिएर लामो समय वैदेशिक रोजगारीमा रहेका नेपालीको संख्या २१ लाखभन्दा बढी छ । यो तथ्यांकलाई आधार मान्दा वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये १ प्रतिशतभन्दा कमले मात्र आरक्षित आईपीओमा आवेदन दिएको देखिन्छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot