Logo

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा



काठमाडौं, पुस २५ । राष्ट्रिय सभाको उपनिर्वाचन आउँदो माघ २५ गते हुने भएको छ । रिक्त राष्ट्रियसभा सदस्य पद पूर्तिका लागि सो निर्वाचन गर्न लागिएको हो । लुम्बिनी प्रदेशको अन्यतर्फ एक पद हाल रिक्त रहेको छ ।

तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि सो स्थान रिक्त भएको थियो । नेकपा (एकीकृत समाजवादी)का नेता भट्टराईले रूपन्देही–५ बाट चुनाव लड्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा र्दिएका थिए। तर, उनले उम्मेदवारी दिएनन्।

सो निर्वाचनका लागि निर्वाचन आयोगले आज सोमबारदेखि बिहीबारसम्म दल दर्ता गर्न आग्रह गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। आयोगले आइतबार एक सूचना प्रकाशित औपचारिक रूपमा आग्रह गरेको थियो ।

राष्ट्रिय सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नेले केन्द्रीय सदस्य संख्या, विधान, वार्षिक लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति, महाधिवेशन र मितिलगायत विवरण खुलाएर दल दर्ताका लागि निवेदन पेस गर्नुपर्ने प्रावधान रहेको छ ।

दल दर्ता गरिसकेपछि आयोगले उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । त्यसपछि प्रदेशको राजधानी रहेको ठाउँ दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको छ ।

सो निर्वाचनमा लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot