Logo

बागमतीमा माओवादीका जम्कट्टेलले मुख्यमन्त्रीमा दाबी पेस गर्दै



काठमाडौं, पुस २५ गते । निर्वाचन आयोगले बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष प्रदेश सभा सदस्य निर्वाचनको बागमती प्रदेशको प्रतिवेदन बुझाएको २४ औँ दिनमा बागमती प्रदेशले मुख्यमन्त्री पाउने भएको छ ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सोमबार आज दिउँसो बागमती प्रदेशका प्रदेश प्रमुखसमक्ष बहुमत प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेस गर्दैछन् ।

केन्द्रमा गठबन्धन गरेका सत्तारुढ दल नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताहरुको बैठकमा बागमती प्रदेशमा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

बागमती प्रदेशमा माओवादी केन्द्रले पहिलो कार्यकाल सरकारको नेतृत्व गर्ने सहमतिअनुसार सरकारको नेतृत्व गर्दै दाबी पेश गर्ने भएको हो । ११० प्रदेश सभा सदस्य रहेको यस प्रदेशमा सरकार गठनका लागि बहुमत पुग्न ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुन्छ । तर प्रदेश सभामा प्रतिनिधित्व गर्ने सातै दलको स्पष्ट बहुमत नभएकोले दुई वा दुईभन्दा बढीको समर्थनमा सरकार बनाउनुपर्ने बाध्यता छ ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकोले दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आज दिउँसो ४ बजेसम्मका लागि समय दिएका छन् । प्रदेश सभा निर्वाचन घोषणा भएको मितिले ३० दिनभित्र सरकार गठन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot