काठमाडौं, २५ पुष । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले संसदमा प्रतिनिधित्व गरेका नयाँ दलहरूसँग आवेग मात्र नभएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई जवाफ फर्काएका छन् । उनले आफूहरुसँग आवेगमात्रै नभएर अग्रजप्रति सम्मानसमेत रहेको बताए ।
आजबाट सुरु भएको प्रतिनिधिसभाको पहिलो अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । सुरुमा बोलेका प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद्मा आएका नयाँ अनुहारमा आवेग र नयाँ उर्जा रहेको बताएका थिए । त्यसको जवाफमा राउतले आफूहरुसँग सकारात्मक उर्जा रहेको बताए ।
उनले सम्बोधनको क्रममा भनेका थिए,‘सम्माननीय प्रधानमन्त्रीज्यूले नयाँ दलप्रतिको आगमनलाई स्वागत गर्नुभयो र भन्नुभयो कि उहाँसँग आवेग पनि छ। हामीसँग आवेग मात्र होइन, हाम्रा अग्रजप्रति सम्मान पनि छ भन्ने कुरामा ढुक्क रहन उहाँलाई आश्वस्त पार्न चाहन्छु। हामीभित्र देखिएको आवेग जनताको परिवर्तनको आवेग हो ।’