काठमाडौं, २५ पुष । नेपाल मगर संघ केन्द्रीय समितिले माघेसंक्रान्तिको अवसरमा मगर मौलिक राष्ट्रिय सांस्कृतिकृत महोत्सव आयोजना गर्ने भएको छ । मगर संघले आज (सोमबार) रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै यही पुष २९, ३० र माघ १ गते काठमाडौंको टुँडिखेलमा महोत्सवको आयोजना गर्न लागेको जानकारी गराएको हो ।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने बताइएको छ । कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक खेल धनुषवाण हान्ने, क्षलो हान्ने खेललगायतका कार्यक्रम रहने बताइएको छ । कार्यक्रममा मगर समूदायका अन्य संघ÷संस्थाहरुको पनि प्रतिनिधित्व रहनेछ ।
कार्यक्रममा पुष २९ र ३० गते मौलिक सांस्कृतिको प्रदर्शन हुने र सोही दिन मागरहरुको परम्परित खेलहरु क्षलो हान्ने र धनुषवाण लगायत शुभकामना आदानप्रदानको कार्यक्रम रहेको छ भने माघ १ गते दिनको १० बजे भृकुटीमण्डपबाट र्याली सुरु हुनेछ ।
कार्यक्रममा उपस्थिति भएर मगरको मौलिक संस्कृति, भेषभुषा, खानपिन, मौलिक खेललगायतका गतिविधिको अवलोकनका लागि केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनले आग्रह गरेका छन् । ‘यो देशका विभिन्न जातजातिमध्ये मगरको एउटा बृहत र गर्विलो इतिहास छ । हामीले त्यसको रक्षा गर्दै समग्र मगर समूदायको समृद्धिका लागि यो अभियानमा सबै दाजुभाई तथा दिदी बहिनीलाई जोडिन आग्रह गर्दर्छौ’–अध्यक्ष पुनले भने ।
सरकारको संस्कृति मन्त्रालयमा नेपालको मौलिक संस्कृति सूचीकृत नभएको भन्दै उनले सरकारले सांस्कृतिक अभिलेखीकरणको अभियान सुरु गर्नुपर्ने पनि माग गरे । संस्कृति जातिभन्दा माथि उठेको विषय भएकाले यसलाई राज्यले संरक्षण गर्न आवश्यक रहेको उनको धारणा छ । मगर जाति समूदाय समग्र नेपाल र जातिको पक्षमा रहेको पनि उनले बताए ।
मगर समूदायको मौलिक संस्कृति र खेलको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव खगेन्द्र पुनले बताए । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष पुन, सह–अध्यक्षद्धय गंगाबहादुर थापा मगर, गंगा खासु मगर, महासचिव टेक नाम्जाली मगरलगायतको उपस्थिति रहेको थियो ।