Logo

क्रसर व्यवसायीद्वारा हत्या गरिएका दिलीप महतोलाई वातावरण सहिद घोषणा गर्न सरकारसँग अखिल क्रान्तिकारीको माग



काठमाडौं, २५ पुष । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नेपाल ल क्याम्पस कमिटीले अवैध नदी उत्खनन रोक्न खोज्दा हत्या गरिएका इन्जिनियर ओमप्रकाश महतो (दिलीप) लाई वातावरण सहिद घोषणा गर्नुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेको छ ।

धनुषाको श्रीपुरकोऔरही खोला उत्खनन रोक्न गएका दिलीपको २०७६ पुस २२ गते क्रसर व्यवसायीद्वारा फलामको सुइरो रोपी, कुटपिट गरी बेहोश बनाएपछि टिप्परले टाउको कुल्चाएर बीभत्स ढङ्गले हत्या गरिएको थियो । उनको हत्या भएको तीन वर्ष वितिसक्दा पनि राज्यले सबै आरोपितहरुलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडि नबढाएको भन्दै क्याम्पस कमिटीले राज्य विरुद्ध विरोध प्रदर्शन गरेको हो ।

राज्यले नागरिकको हैसियतले गर्नुपर्ने व्यवहार दिलिप महतोप्रति नगरेकाले न्यायको लागि विरोध सभा गर्नुपरेको क्याम्पस कमिटी अध्यक्ष अधिवक्ता विष्णु ढुंगेलले बताए । यो राज्यद्वारा गरिएको हत्या हो । अदालतमा एघारौं पटकसम्म अभियुक्तको पक्षबाट पेशी स्थगित भएको छ । सबै अपराधी करार भएकालाई पनि समातिएको छैन,’ अध्यक्ष ढुंगेलले भने ।

साथै, हत्यामा संलग्न सबै अभियुक्त अनुसन्धानको दायरामा आउनु पर्ने, मृतकका पारिवारलाई राज्यस्तरबाट उचित क्षतिपूर्ति दिनु पर्ने, दोषिलाई हदैसम्मको कारवाही गरिनुपर्ने लगायतका माग अखिल क्रान्तिकारीको छ । हत्यापछि दिलीपका बाबु रामजनम महतोले क्रसर उद्योगी विपिनकुमार महतो र विनोद महतो, टिप्पर चालक मुनीन्द्र महतो, टिप्परका सहचालक जितेन्द्र महतो (सत्यनारायण), लोडर चालक जितेन्द्रकुमार महतो, क्रसरका हेड मिस्त्री शत्रुघन महतो र खोलामा सँगै गएका दिलीपका साथी रोशनकुमार यादव विरुद्ध जाहेरी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्