Logo

ट्रेजरीको ब्याजदर वर्षकै न्यून बिन्दुमा



काठमाडौं, पुस २६ । बैंक, वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि सरकारको अल्पकालीन ऋणपत्र ट्रेजरी बिल्सको ब्याजदर चालू आर्थिक वर्षकै न्यून विन्दुमा ओर्लिएको छ ।

सोमवार नेपाल राष्ट्र बैंकले २८ दिनको २ अर्ब, ९१ दिनको ८ अर्ब र ३६४ दिनको ६ अर्ब गरी कुल १६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्स नवीकरणका लागि बोलकबोल गरेकोमा मागभन्दा बढीका लागि आवेदन पर्नुका साथै ब्याजदर पनि न्यूनतम विन्दुमा झरेको हो ।

सोमवार जारी २८ दिने ट्रेजरीमा मागभन्दा १० अर्ब ८९ करोड बढीको बोलकबोल परेको थियो । उक्त ट्रेजरीको ब्याजदर ७ दशमलव ९३ प्रतिशत कायम भएको छ । यसअघि गत साताको २८ दिने ट्रेजरीमा ९ दशमलव १८ प्रतिशत ब्याजदर कायम भएको थियो ।

९१ दिनको ट्रेजरी पनि बोलकबोलभन्दा ५ अर्ब ५२ करोड बढीको माग भएको छ । उक्त ट्रेजरीको ब्याजदर पनि अघिल्लो साताको तुलनामा करीब १ प्रतिशत विन्दुले घटेर १० दशमलव ६ प्रतिशत कायम भएको राष्ट्र बैंकले बताएको छ । यसैगरी ३६४ दिनको ट्रेजरीको ब्याजदर घटेर ११ प्रतिशतमा झर्दा ४ अर्ब ४० करोडभन्दा अधिकका लागि बोलकबोल भएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले पुस १४ गते ४५ दिन अवधिको रिपो जारी गरेको थियो । उक्त रिपोमा ८ दशमलव शून्य ९९ प्रतिशत औसत ब्याजदर कायम भएको थियो । रिपोका कारण बजारमा तरलता सहज भएपछि बैंकहरूले ट्रेजरीमा मागभन्दा अधिक बोलकबोल गरेका थिए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्