Logo

वैदेशिक रोजगारीका नाममा बिनादर्ताको संस्थाबाट ठगी



काठमाडौं, पुस २६ । वैदेशिक रोजगारीका नाममा हुने ठगी रोकिएको छैन । बरु वैदेशिक रोजगारीका नाममा नयाँ–नयाँ तरिकाबाट ठगी भइरहेको छ । यसको पछिल्लो उदाहरण सी स्टार सिपिङ सर्भिसेस एन्ड ट्रेनिङ सेन्टर नामक संस्था हो ।

उक्त संस्था कहीँकतै दर्ता भएको देखिँदैन । बिनादर्ताको यो संस्थाले विदेशमा आकर्षक कमाइ हुने काममा तालिम दिएर पठाउने भन्दै वर्षौंदेखि ठगी गरेको खुलेको छ ।

उक्त संस्थाका सञ्चालक झन्डै एक हजार युवाको राहदानीसहित प्रतिव्यक्ति न्यूनतम एक लाख रुपियाँदेखि अधिकतम पाँच लाख रुपियाँसम्म लिएर १५ दिनदेखि बेपत्ता भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागमा पीडितले गरेका उजुरीका आधारमा वनस्थलीमा रहेको उक्त संस्थाको विभागको आकस्मिक टोलीले अनुगमन गर्दा ‘होल्ड’ गरेका ९८० वटा राहदानी फेला पारी नियन्त्रणमा लिएको छ ।

संस्थाका सञ्चालक काठमाडौँ गोकर्णेश्वर–६ बस्ने ४४ वर्षीय लालबहादुर लामा र कम्पनीमा सीईओ रोशन न्यौपानेले एक हजार युवासँग लाखौँ रुपियाँ ठगी गरेर १५ दिनदेखि फरार रहेको पीडितले विभागमा दिएको उजुरीमा उल्लेख छ ।

विभागका अनुसार उक्त संस्थाको अनुगमन गरी सञ्चालन भएको घरलाई सिल गरेको छ । विभागको टोलीले उक्त संस्थामाथि गरेको अनुगमनको क्रममा चारवटा झोला र स्कुटरको डिकीमा राखिएको अवस्थामा राहदानी फेला परेका थिए । उक्त कम्पनीमा युवाले प्रतिव्यक्ति एक लाखदेखि पाँच लाखसम्म अग्रिम बुझाएको पाइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot