Logo

गगनगौँडा फाँटमा उत्पादन बढ्दै, जमिन घट्दै



गण्डकी, २६ पुस ।
“यै माटो यही धर्तीमा लडिबुडी खेलेर हुक्र्यो तन
जस्को अन्न र पानी खाई दिनुहँ जो पूर्ण भो जीवन
त्यै धर्ती टुहुरो गराइ कसरी बस्छौँ युवा बाहिर
यिन्लाई यसरी चटक्क भुलदा लाग्दैन कि क्यै पीर ?” (कुन्तीदेवी भट्टराईको ‘धरतीको पुकार’ नामक कवितामा भनेजस्तै पछिल्लो समयमा रोजगारीको खोजीमा युवा बाहिरिने क्रमसँगै खेतीयोग्य जमिन बाँझो हुँदै गएका छन् । पछिल्लो समयमा सिँचाइसँगै कृषिमा भित्रिएका आधुनिक प्रविधिले उत्पादन बढ्दै गए पनि जनशक्तिको अभावमा जग्गा बाँझै बसेका छन् भने कतिपय उब्जाउयोग्य जमिन पनि प्लटिङ गर्दै बस्तीमा परिणत हुँदै आएको छ ।
कृषिप्रति अनिच्छा बढिरहेको अवस्थामा पोखरा महानगरपालिका–३२ को गगनगौँडा क्षेत्रको फाँट भने यतिखेर तोरीबारीले पहेँलै बनाएको छ । तोरीसँगै झपक्क फुलेको फापर र लहलहाएको आलुबारी निकै मनमोहक देखिन्छ छ । यहाँ कृषिप्रति आकर्षण बढीरहेपनि बढ्दो बस्ती विकासका कारण बर्सेनि खेतीयोग्य जमिन घडेरी बन्दै बस्तीमा परिणत हुन थालेकोे स्थानीयवासी एवं स्कुल टोल विकास संस्थाका अध्यक्ष बलराम केसी बताउछन् ।
“फाँटमा कृषि उत्पादन बर्सेनि बढ्दै गएको छ नै त्योसँगै बढ्दो बस्ती विकासका कारण बर्सेनि घरहरू पनि थपिँदै गएका छन्”, उनि भन्छन्, “पछिल्ला केही वर्षदेखि यो फाँटमा १२ महिना खेती हुँदै आएको छ ।” गगनगौँडा फाँटमा वर्षायाममा रोपिएको धान काटेसँगै आलु, फापर तथा तोरी लगाउने र आलु तथा तोरी भित्र्याएसँगै मकै लगाउने गरिएको छ ।

उत्पादन पनि अपेक्षित रुपमा राम्रो हुँदै जाँदा बर्सेनि कृषिप्रतिको आकर्षण बढिरहेको अध्यक्ष केसी उल्लेख गर्छन् । कृषि उत्पादन प्रतिको आकर्षणलाई दृष्टिगत गरी राज्यले पनि यस क्षेत्रमा चासो दिनुपर्ने उनको भनाइ छ । गगनगाँैडा फाँटमा विसं २०४५ अघिसम्म वर्षे धान मात्रै लगाउने गरिन्थ्यो । स्थानीयवासी एवम् बेगनास सिँचाइ उपभोक्ता समूह विटुका पूर्वअध्यक्ष घनश्याम खनालका अनुसार विगतमा एक बालीमात्रै उत्पादन हुने फाँटमा बेगनास सिँचाइ आयोजनाको नहर आएसँगै हिउँदमा पनि खेती गर्न थालिएको हो । बस्ती विकासका दृष्टिले गगनगाँैडा पुरानै ठाउँ भए पनि बीचको समयमा औलोलगायत समस्याका कारण यहाँबाट अन्य स्थानमा बसाइँ सरेको पाइन्छ ।

औँलो उन्मुलनसँगै सिँचाइ उपलब्ध भएपछि विस्तारै यस क्षेत्रमा बसोबासको क्रम बढेको बताउँदै उहाँ प्राचीन बस्तीका रुपमा रहेका पुरानो गाउँ, ढकाल खोरलगायत स्थानमा अहिले भने बसोबास नरहेको उल्लेख गर्छन् । विशेष गरी गगनगौँडाको उपल्लो भागमा भरतपोखरी, निर्मलपोखरी, देउराली थुम्कीलगायत स्थानबाट धेरैजसो मानिस बसाइँ सरेर आएका छन् भने तल्लो भागमा सेराबेँसी, थप्रेक, नयाँगाउँ, चोयाबिसौना, दगामलगायत स्थानबाट बसाइँ सरेर आएका छन् ।

गगनगाँैडाको बस्ती विकासमा बेगनास तालको पानी महत्वपूर्ण बनेको स्थानीयवासी बताउँछन् । लेखनाथ क्षेत्रको सबैभन्दा ठूलो यस तालबाट आएको पानीका कारण गगनगौँडासँगै खुदी, राजाचौतारा, मालमूललगायत स्थानमा सिँचाइ उपलब्ध भएको छ । कूल तीन दशमलव ७३ वर्ग किलोमिटर (३७३ हेक्टर) जमिन रहेको यस तालमा विसं २०४४मा बाँध बाधेपछि दुई सय २० हेक्टरबाट तीन सय ७३ हेक्टर क्षेत्रफल ओगटेको थियो ।

यही बाँधबाट निकालिएको नहरले गगनगौँडासँगै लेखनाथको खुदी, मालमूललगायत फाँटमा भएको सिँचाइले यस क्षेत्रको बस्ती विकासमा महत्वपूर्ण बनेको स्थानीयवासीको तर्क छ । सिँचाइको उपलब्धतासँगै यस क्षेत्रमा बर्सेनि कृषिप्रति आकर्षण बढ्दै गएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरिया बताउछन् ।
गगनगौँडालगायत आसपासमा हिउँदे तोरी, आलु, फापर आदिको राम्रौ उत्पादन हुने गरेको उनको भनाइ छ । कृषिप्रतिको बढ्दो आकर्षणसँगै यस क्षेत्रमा कृषिको विकासलाई महानगरले प्राथमिकतामा राख्नका लागि पोखरा महानगरपालिका–३२ कै राजाचौतारा क्षेत्रमा केही दिन अघि मात्रै माटो परीक्षण गरिएको महाशाखा प्रमुख कडरिया बताउछन् ।
किसानबाट संस्थागतरुपमा प्रयास भएका अवस्थामा महानगरबाट सहयोग गर्न सहज हुने उल्लेख गर्दैै कडरिया त्यसका लागि उनीहरूको जागरुकताको आवश्यकता औँल्याउछन् । कृषियोग्य जमिनमा उत्पादन बढ्दो क्रममा रहेपनि बढ्दो बस्ती विकास भने चुनौतीका रुपमा रहेको उनको भनाइ छ । रासस

 

 



प्रतिक्रिया दिनुहोस्