Logo

दीपक खड्काको त्यो खुलासा, कांग्रेसको यो निर्णय



काठमाडौं, २६ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । आफ्नो नेतृत्वको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री बनेका दाहाललाई कांग्रेसले आज विश्वासको मत दिएर राजनीतिमा नयाँ संशय पैदा गरेको छ ।

कतिपयले कांग्रेसले सत्तारोहणको लागि यो रणनीतिक कदम चालेको भनेर पनि अथ्र्याएका छन् । कतिपयले भने संवैधानिक पदमा भाग खोजेको पनि रुपमा पनि हेरेका छन् । रिपोर्टर्स नेपाल डटकमले कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छ भनेर केही दिनअघि समाचार लेखेको थियो । कांग्रेस नेता दीपक खड्काले पनि दुई दिन अघि नै यो खुलासा गरेका थिए ।

पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा नेता खड्काले प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको दिने खुलासा गरेका थिए । उनले विश्वासको मत दिएसँगै माओवादीसँग कांग्रेसको सहयात्रा पनि सुरु हुने संकेत गरेका थिए । उनी प्रचण्डलाई विश्वासको मत दिनुपर्ने पक्षमा थिए । उनले त्यसको लागि लविङपनि गरेका थिए । प्रधानमन्त्री दाहाल हिजो कांग्रेस सभापति शेरबहादुर देउवा बसेको भाडाको घरमा विश्वासको मत माग्न पुगेका थिए । देउवासँग दाहालले विश्वासको मत मागेको समाचार आएपछि कांग्रेसले विश्वासको मत दिँदैन भनेर धेरै नेताहरुको प्रतिक्रिया आएको थियो । तर, सभापति देउवाले भने हिजै प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने वचन दिएका थिए ।

आज विहान उनले पार्टी पदाधिकारीसँग छलफल गरे । त्यसपछि कार्यसम्पादन समितिको बैठक राखे । दुवै बैठकमा उनले प्रचण्डलाई विश्वासको मत दिने निर्णय सुनाए । बहुमत सांसदहरुले देउवाको निर्णयलाई साथ दिए । लगत्तै उनले संसदीय दलको बैठक राखेर विश्वासको मत दिने निर्णय गराए ।

संसदीय दलको बैठकमा महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता अर्जुननरसिंह केसी र प्रदिप पौडेलले फरक मत राखेका थिए । कांग्रेसले विश्वासको मत दिएसँगै अब एमालेसँग माओवादीको दूरी बढ्ने आँकलन गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्