Logo

प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिन सहमत होलान त ?



काठमाडौं, २८ पुष । सत्ता साझेदार दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच खटपट सुरु भएको छ । मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै दुई दलबीच असमझदारी बढेको चर्चा छ । खासगरी नेपाली कांग्रेससँग प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो साँठगाँठले गर्दा एमाले नेतृत्व सशंकित छ । प्रधानमन्त्री दाहालले पुष २६ गते संसद्मा विश्वासको मत लिँदा कांग्रेसले पनि उनलाई विश्वासको मत दिएको थियो ।

विश्वासको मत लिएको अघिल्लो दिन प्रधानमन्त्री दाहाल आँफै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेर मत दिन आग्रह गरेका थिए । दाहालले आग्रह गरेकै भरमा बिना स्वार्थ कांग्रेसले विश्वासको मत नदिएको चर्चा छ । हुन पनि प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिएका छन् । हिजो गोरखामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यता, एमाले नेतृत्व पँक्ति भने प्रधानमन्त्री दाहालले धोकाको राजनीति सुरु गर्न खोजेको भन्दै सशंकित छन् । दाहाललाई प्रधानमन्त्री बनाउने बेलामा नै एमालेले राष्ट्रपति र सभामुख लिने समझदारी भएको थियो । प्रधानमन्त्री दाहाल भने सभामुख एमालेलाई दिएर राष्ट्रपति कांग्रेसलाई दिने तयारीमा लागेको चर्चा एमाले वृत्तमा हुन थालेको छ। तर, हिजो बालकोटमा ओलीसँग भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले कुनै पनि हालतमा सुरुको समझदारीबाट आफू ब्याक नहुने जवाफ दिएका थिए ।

कांग्रेस सभापति देउवामात्रै नभएर वरिष्ठ नेता रामचन्द्र पौडेल पनि माओवादीसँग नयाँ शिराबाट सहकार्यको सम्भावना बढेको दाबी गर्छन् । प्रधानमन्त्री दाहालले संसद्मा विश्वासको मत पाएकै दिन पौडेलले एमालेले हाईज्याक गरेको गठबन्धनलाई ट्रयाकमा ल्याउन सफल भएको टिप्पणी गरेका थिए । पौडेलको उक्त अभिव्यक्तिले पनि कांग्रेस राष्ट्रपति पाउनेमा ढुक्क छ । तर, त्यसको लागि प्रधानमन्त्री दाहालको कदम निर्णायक छ । उनी एमालेलाई राष्ट्रपति दिने सहमतिमा पुगिसकेका छन् । त्यसबाट उनी के ब्याक होलान त ? यो प्रश्नको उत्तरको लागि केही समय पर्खिनुपर्ने हुन्छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot