सप्तरी, पुस २९ । सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । राजविराज नगरपालिका(११ झल्लहीमा आज रामजानकी मन्दिरका ९२ वर्षीय महन्थ बालगोविन्द दासको चिसोका कारण कठ्याग्रिएर मृत्यु भएको हो ।
राति खाना खाएर सुतेका उनको चिसोले कठ्याग्रिएर मृत्यु भएको राजविराज नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष उदित यादवले जानकारी दिए ।
यसैगरी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर ६५ बर्षीय कपलेश्वर सदा रहेको मृत्यु भएको छ ।
यसअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय देवु सदाको चिसोले कठ्याग्रिएर मृत्यु भएको थियो ।
बिगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर बन्दै गइरहेको छ ।
चिसो बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालय समेत बन्द गरेका छन् ।