काठमाडौं, ३० पुस । जनता समाजवादी पार्टी (जसपा) का नेता एवं सांसद राजकिशोर यादवले सरकारलाई समर्थन गरेको, विश्वासको मत दिएको स्थितिमा मन्त्रिपरिषद्मा सामेल हुनु स्वाभाविक भएको बताएका छन् ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग अध्यक्षज्यू (उपेन्द्र यादव) संवादमा हुनुहुन्छ । सत्ता साझेदार दलहरुबीच सहमति गरेर सरकारमा जाने कुरा छ । तर कुन मन्त्रालय वा कति मन्त्रालय भन्ने ठ्याक्कै निर्णय भएको छैन । जसपाले सरकारलाई समर्थन गरेको छ, विश्वासको मत दिएको छ, संवाद भइरहेको छ । सरकारमा जानु स्वाभाविक हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।
अहिले यो वा त्यो मन्त्रालयभन्दा पनि सरकारमा गएर जनतालाई बढीभन्दा बढी सेवा दिन सकिन्छ भन्ने आफूलाई लागेको पनि उनले स्पष्ट पारे । यादवले थपे,’ मन्त्रिपरिषद् विस्तार चाँडै गर्दा राम्रो सन्देश जान्छ । जनअपेक्षा अनुसार चुस्तदुरुस्त, छिटोछरितो सेवा दिन सकिन्छ । जनतालाई सुशासनको अनुभूति गराउन सकिन्छ ।’
जसपाले चुनावपश्चात् विचार मिल्नेसँग एकता, सहकार्य वा ध्रुवीकरणका निम्ति वार्ता कमिटी बनाएको पनि यादवले बताए । उनले भने, ‘प्रारम्भिक चरणमा नेकपा (एस) सँग आपसमा विश्वासको वातावरण बनाउन मुद्दामा छलफल भइरहेको छ । तर कुनै निष्कर्षमा पुगिसकेको वा कठिन मोडमा रहेको साँचो होइन । सम्भावना भएकाले नै संवाद हुने हो ।’
सांसद यादवले क्रसर उद्योगलाई व्यवस्थित गर्नुपर्ने अवस्था आएको पनि औंल्याए । उनले भने, ‘चुरे मधसको लाइफलाइन हो । क्रसर उद्योगका कारण पूरै मधेस मरुभूमीकरण हुने खतरा छ । वातावरणीय दृष्टिकोणले संवेदनशील भएर अघि बढ्नुपर्ने अवस्था छ ।’