Logo

प्रचण्ड लोसपालाई किन आफ्नो सरकारमा ल्याउन चाहन्छन् ?



काठमाडौं, ३० पुष । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि आफ्नो सरकारमा सहभागी गराउनेगरि गृहकार्यमा जुटेका छन् । आज/भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरि छलफल थालेका प्रधानमन्त्री दाहालले चार सिट रहेको लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालको प्रस्ताव नै आएपछि लोसपाभित्र पनि सरकारमा सहभागी हुनेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री दाहालले एउटा मन्त्रालय दिने भनेका छन् । लोसपामा सरकारमा जाने आकांक्षीहरु धेरै छन् । प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको लोसपाले यसअघि प्रतिपक्षमा बस्ने भनेको थियो । तर, पछिल्लो समय कांग्रेस पनि प्रधानमन्त्री दाहालसँग नजिक हुन थालेपछि लोसपाले सरकारमा नै सहभागिता जनाउने निधो गरेको उच्च स्रोतको दाबी छ ।

प्रधानमन्त्री दाहालले भने आफ्नो सरकारलाई राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिन थालेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा अहिले प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री दाहालको निर्णायक छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी भेटवार्तामा मन्त्रालय बाँडफाँडको विषय टुँगो लगाउने बुझिएको छ ।

प्रधानमन्त्री दाहालले जसपालाई पनि सरकारमा आउन भनिसकेका छन् । जसपा सरकारमा जान तयारी अवस्थामा छ । जनमत त सहभागी भैसकेको छ। तराई÷मधेश र थरुहट क्षेत्रमा प्रभाव जमाउने जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत र लोसपालाई नै सरकारमा सहभागी गराउन सकिए हिमाल, पहाड र मधेशलाई एकताको सूत्रमा बाँध्न सफल भएको हुने ठानेर दाहालले लोसपालाई पनि सरकारमा सहभागी गराउन चाहेको चर्चा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot