Logo

कांग्रेस सत्तापक्ष कि प्रतिपक्ष ?



मोहन बुढाक्षेत्री – संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८९ सिट ल्याएर पनि सरकार गठन गर्न असफल भयो । संसदीय प्रणालीको अभ्यासलाई हेर्ने हो भने बहुमत प्राप्त गर्ने दलले सरकार गठन गर्छ । यदि स्पष्ट बहुमत प्राप्त नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत पुर्याउनसक्ने दलको संसदीय दलको नेताले प्रधानमन्त्रीमा आफ्नो दाबी पेश गर्नसक्छ । संसदीय अभ्यासमा सामान्यतया संसद्को ठूलो दलले सरकारमा आफ्नो दाबी गर्ने गर्छन् । नेपालको सन्दर्भमा भने संसदको तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले सरकार गठनमात्रै गरेन प्रधानमन्त्री पुष्पकमल दाहाललाई संसद्बाट ९९ प्रतिशत भन्दा बढी समर्थन प्राप्त भयो । यो घटनाक्रमसँगै संसद् प्रतिपक्षविहीन बनेको बहस चल्न थालेको छ । संसदीय प्रणाली अवलम्बन गर्ने मूलुकहरुमा प्रतिपक्षविहीन संसदको परिकल्पना गरिँदैन । सत्ता सरकारको र संसद् प्रतिपक्षको भन्ने गरिन्छ । सरकारले सत्ता र शक्तिको आडमा गलत काम गरेमा खबरदारी गर्ने ठाउँमा प्रतिपक्ष रहेको हुन्छ । प्रतिपक्षविहीन संसदमा जनताको आवाज स्वतः कमजोर हुने संविधानविद्हरु बताउँछन् ।

सरकारका कामकारबाहीमा निगरानी राख्ने र छायाँ सरकारको रुपमा रहनुपर्ने प्रतिपक्षको भूमिका अहिलेको संसद्मा देख्न नपाइने अवस्था आएको संविधानविद्हरुको तर्क छ । यस्तो अभ्यासले राजनीतिक अस्थिरता मात्र बढाउने र लोकतन्त्र बलियो हुन नसक्ने उनीहरुको दाबी छ । सरकारलाई विश्वासको मत दिएरपनि प्रतिपक्षमा बस्छौं भन्नु कांग्रेसको द्वैद्व चरित्र भएको राजनीतिक विश्लेषकहरु बताउँछन् । सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले नैतिकता, संवैधानिक व्यवस्था र संसदीय प्रणाली कुनै आधारमा प्रतिपक्षमा बस्न नमिल्ने तर्क संविधानविद्हरुको छ । तर, केही राजनीतिज्ञहरु कांग्रेसले दीर्घकालीन सोच र दूरदृष्टिका आधारमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको बताउँछन् । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली संयोजक रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रले यो सरकार निर्माण गरेको र ओलीको निर्देशनमा प्रचण्डले संसद विघटन गर्ने अवस्था आउनबाट रोक्न कांग्रेसको कदम सही रहेको केही जानाकारहरु बताउँछन् ।

विगतको इतिहासलाई हेर्ने हो भने कांग्रेसले २०५१ सालमा पनि मनमोहन नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसेको थियो । तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइराला थिए । अहिले ठीक २८ वर्षपछि कांग्रेसले पुरानै नजीर दोहोर्याएको छ । अहिलेको समसामयिक परिवेशमा संविधानविद् एवं कानुनका ज्ञाताहरुले कांग्रेसको कदमलाई सकारात्मक मान्न नसकिने बताएका छन् । कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षमा बस्न खोज्नु सही कि गलत भन्ने सन्दर्भमा यस्तो छ कानुनविद्हरुको धारणाः

डा. भीमार्जुन आचार्य :
संसदीय शासन प्रणालीमा विपक्षी पार्टीले परेको बेला वैकल्पिक सरकार दिन सक्ने र सरकारलाई संसद्प्रति जवाफदेही बनाउनसक्ने सामथ्र्य राखेको हुन्छ । विश्वासको मतको सरकारी लाईनमा उभिनु उसको संवैधानिक धर्म होइन । कांग्रेसले विपक्षी पार्टीका सबै राजनीतिक, संवैधानिक र नैतिक मूल्य नष्ट गर्यो । कांग्रेस प्रतिपक्षमा बस्छु भने जबरजस्ती बस्छ । सरकार निर्माण, सरकार गठनमा सहभागी हुने दललाई प्रतिपक्षको दल नमान्ने भन्ने कानुनी व्यवस्थामै छ । यो संवैधानिक मान्यता पनि हो । त्यसलाई कांग्रेसले उल्लङ्घन गर्यो ।

टिकाराम भट्टराई :
कांग्रेस प्रतिपक्षमा बस्न राजनीतिक र नैतिक रुपमा मिल्दैन । यो संसदीय प्रणालीको विरुद्धमा पनि हुन्छ । संसदीय प्रणाली संविधान र कानुनमा लेखिएका अक्षरहरुबाट मात्रै निर्देशित हुँदैन । प्रणाली आफैंमा संविधान र कानुनभन्दा पनि माथि हुन्छ । संसदीय व्यवस्थाको आधारभूत सिद्धान्त भनेकै बलियो र जवाफदेही प्रतिपक्ष हो । सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने कर्तव्य प्रतिपक्षको हुन्छ । सरकारलाई नै समर्थन दिइसकेपछि आफैंले समर्थन गरेको सरकारका विरुद्धमा बोल्ने उसले नैतिक साहश गुमाउँछ । प्रतिपक्ष वइटिङ इन गभरमेन्ट पनि भएकाले सरकारले गरेका नराम्रा काम जनतामा लिएर जानेर इलेक्सनको तयारी गर्ने उसको मुख्य भूमिका हो । सरकारलाई नै समर्थन दिइसकेपछि उसले अर्को निर्वाचनमा आफैंले समर्थन गरेको सरकारको विरुद्धमा मत माग्ने नैतिकता पनि गुमाउँछ । तसर्थ संवैधानिक रुपले, संसदीय प्रणालीको दृष्टिकोणले एवै राजनीतिक नैतिकता र संवैधानिक नैतिकता दुइवटै दृष्टिकोणबाट यो गलत हो । यसर्थ कांग्रेसले प्रतिपक्षको हैसियत र नैतिक हैसियत गुमायो । नेपालको संविधानले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न मिल्छ भन्ने कल्पना गरेको छैन ।

डा. सुरेन्द्र भण्डारी :
प्रतिपक्षमा बस्नुपर्ने नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको अवस्था छ । यो अवस्थालाई नेपाली राजनीतिक वृत्त र संवैधानिक वृत्तमा पनि गहिरो चाखका साथ हेरिएको छ । संविधान र डेमोक्रेसीका आधारभूत भ्यालुजहरुलाई हेर्दाखेरी नेपाली कांग्रेसले संविधान र लोकतन्त्रलाई संस्थागत गर्नेक्रममा एउटा ठूलो गल्ती गर्यो । गठबन्धनको आडमा निर्वाचनमा गएका प्रचण्डले गठबन्धन बाहिर गएर सरकार गठन गर्नुपनि राजनीतिक नैतिकता सकिएको सन्देश हो । यस्तो अवस्थामा राजनीतिक दलको केन्द्रविन्दु सत्ता नै हुन्छ । प्रचण्डलाई प्रधानमन्त्रीका लागि जनताले म्याण्डेट नै दिएका होइनन् । सत्ता केन्द्रीत राजनीतिले अहिलेको लोकतन्त्रलाई कमजोर बनाएको छ । सरकार बनिसकेपछि कांग्रेस प्रतिपक्षमा बस्नु पथ्र्यो । सशक्त प्रतिपक्षको भूमिका निभाउनु पथ्र्यो । संसदीय व्यवस्थामा प्रतिपक्षविनाको संसद र सरकार परिकल्पना गर्न सकिदैन । कांग्रेस जस्तो लामो इतिहास भएको राजनीतिक दलले प्रतिपक्षविहीन संसद बनाउनु भनेको गलत हो ।



प्रतिक्रिया दिनुहोस्