Logo

सत्तामा जाने कि प्रतिपक्षमै बस्ने, एक महिनाभित्र पर्दा उत्रन्छः कांग्रेस सांसद



काठमाडौं, १ माघ । नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाका वरिपरि बस्ने नेताहरुको कमजोरी कारण पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको काखमा बस्न पुगेको आरोप लगाएका छन् ।
‘जनमत अनुसार त चुनावमा गठबन्धन गरेको नाताले कांग्रेस सत्तामा र एमाले प्रतिपक्षमा बस्नुपर्ने हो । तर नीति र कार्यक्रमका आधारमा होइन, केवल सिंहदरबारको कुर्सीका आधारमा चुनाव भएको १५ दिनमै गठबन्धन भत्कियो । शेरबहादुरजीको वरिपरि बस्ने साथीहरुको कमजोरी कारण प्रचण्डजी केपी ओलीको काखमा बस्न जानुभयो । एउटा पद लिनदिन नसकेका कारण हामी राष्ट्रपति दिन्छ कि सभामुख दिन्छ भनेर बस्नुपरिरहेको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. भण्डारीले भने ।
राजनीतिको कोर्स करेक्सनका लागि कांग्रेसले प्रचण्डको सरकारलाई विश्वासको मत दिएको पनि उनले औंल्याए । भण्डारीले भने, ‘२०५१ मा हामीले मनमोहन अधिकारीलाई विश्वासको मत नदिएको भए तत्काल चुनावमा जानुपर्थ्र्यो । अहिले पनि हामीले त्यसैकारण प्रचण्डलाई विश्वासको मत दियौं । यसका विभिन्न व्यक्तिका तर्क कुतर्क होलान् । तर हामीले कुनै गलत निर्णयका कारण दुर्घटना नहोस् र राजनीतिको कोर्स करेक्सन होस् भनेर इन्टरभेन्सन गरेका हौं । सरकारलाई बिनासर्त सहयोग हुन्छ ।’
कांग्रेस सरकारमा सामेल हुन लागेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा डा. भण्डारीले भने, ‘अहिले अलि कन्फ्युज भएको छ । केपी ओली चतुर र खतरा खेलाडी हुनुहुन्छ । प्रचण्डजीले धोका दिनुभो । कांग्रेस सत्तामा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने कुराको पर्दा एक महिनाभित्र उत्रन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot