Logo

अहिले आएर कांग्रेसले राष्ट्रपतिमा र्‍याल चुहाउने ? प्रचण्डले इमान देखाउनुपर्छः पद्मा अर्याल



काठमाडौं, १ माघ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले संसदको सिट संख्याका आधारमा मन्त्रालय बाँडफाँट हुनुपर्ने बताएकी छन् ।
‘मन्त्रिपरिषद् विस्तार कुनै जटिल समस्याले रोकिएको होइन । आन्तरिक तयारी लगभग सकिएका छन् । भोलिसम्म मन्त्रालय टुंगिनुपर्ने हो । तर मन्त्रिपरिषद्को जम्मा संख्याभन्दा बेसी माग भएको छ । सिट संख्याका आधारमा बाँड्दा सबै दलले चित्त बुझाउनैपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सचिव अर्यालले भनिन् ।
उनले सिट संख्याका आधारमा नेकपा एमालेले ११ मन्त्रालय पाउनुपर्ने जिकिर गरिन् । अर्यालले थपिन्, ‘सिटका आधारमा एमालेले ११ मन्त्रालय लिने हो । तर हामी ९ वटामा लचिलो भएका छौं ।’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री माओवादीले लिने र राष्ट्रपति र सभामुख एमाले लिने मौखिक सहमति भइसकेको उनले जिकिर गरिन् । उनले थपिन्, ‘लिखित सहमति भएको छैन होला । तर मौखिक त भएको छ नि । राजनीतिमा इमान त हुनुपर्छ नि । अहिले नै धेरै आशंका नगरौं । उत्ताउलिएर बोल्ने कुरा हुँदैन । प्रचण्डजी इमान भुलेर बाहिर जाने कुरा हुन्छ जस्तो लाग्दैन । उहाँले हिजोको सहमति जे हो, त्यही गर्नुपर्छ ।’
अर्यालले कांग्रेस राष्ट्रपतिमा र्‍याल चुहाइरहेको आरोप पनि लगाइन् । उनले भनिन्, ‘यसबारे मिडियामा आएको मात्र हो । प्रधानमन्त्रीको भ्वाइस आइसकेको छैन । त्यसैले म धेरै पर गएर बोल्न चाहन्नँ । राष्ट्रपति विद्या भण्डारीको कारण भूमिका बढेको छ । सबैलाई दिन मिल्छ र राष्ट्रपति र सभामुख ? अहिले आएर कांग्रेसले र्‍याल चुहाउने ?’

 



प्रतिक्रिया दिनुहोस्