Logo

बागमतीमा मन्त्रालय घटाउँदै मुख्यमन्त्री जमकटेल



काठमाडौं, १ माघ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेल मन्त्रालय घटाउने अभ्यासमा छन् । पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले १४ मन्त्रालयसहित राज्यमन्त्रीसमेत गरी १८ जना मन्त्री बनाएका थिए । पाण्डेले बनाएको जम्बो मन्त्रिमण्डललाई घटाउन जमकटेलले कार्यदल नै बनाएका छन् । मन्त्रालयको संख्या ९ देखि ११ को बीचमा राख्ने तयारी भइरहेको बताउँछन् बागमती प्रदेशसभा सदस्य युवराज चौलागाईँ । ‘हामी सकेसम्म ९ र बढीमा ११ वटा मन्त्रालय बनाउने तयारीमा छौं । राजनीतिक प्रतिवद्धता र प्रशासनिक तयारीका आधारमा हामी निर्णयमा पुग्छौं। मन्त्रालय घट्छ,’ उनले भने ।

मन्त्रालयको संख्या घटाएर संयीयतालाई, चुस्त, कम खर्चिलो र व्यवस्थित बनाउन लागिएको चौलागाईंले बताए । साथै मन्त्रालय घटाउने सन्दर्भमा सत्तारुढ दल एमाले, माओवादी, राप्रपा, हाम्रो नेपाली दल सहमत रहेका र राजनीतिक प्रतिवद्धताका साथ प्रशासनिक तयारी भइरहेको उनले जानकारी दिए । ‘मन्त्रालयको संख्या घटाएर संयीयतालाई, चुस्त, कम खर्चिलो र व्यवस्थित बनाउनु पर्छ भने हाम्रो पार्टीभित्र समझदारी छ । सात्तारुढ दलहरुका बीचमा पनि पटक–पटक छलफल भएको छ । त्यसमा एमाले, माओवादी, राप्रपा र हाम्रो नेपाली दल सहमत छन् । मुख्यमन्त्री ज्यूले पदभार ग्रहण गरेको दिन नै कार्यदल बनाएर रिर्पोटका लागि पन्ध्र दिनको समय दिइएको छ । बागमतीका प्रमुख सचिवको नेतृत्वमा कार्यदल बनेर कुन मन्त्रालयलाई कसरी मर्ज गर्दा राम्रो हुन्छ र कतिवटा मन्त्रालय आवश्यक पर्छ भन्ने सुझाव आउने गरी काम अगाडि बढेको छ,’ उनले भने ।

मुख्यमन्त्री जमकटेलले आगामी माघ ३ मा विश्वासको मत लिँदैछन् । कूल ११० सदस्यीय प्रदेश सभामा जमकटेल ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । बागमतीमा नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने चौलागाईँ बताउँछन् ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot