Logo

अधुरै भयो अञ्जुको क्याप्टेन बन्ने सपना



काठमाडौं, १ माघ । काठमाडौंबाट पोखराको लागि विहान १०:३५ बजे उडेको यती एयरको ९ एन–एनसी एटीआर ७२ विमान दुर्घटना भएको छ। जहाजका क्याप्टेन कमल केसी थिए भने को-पाइलट अञ्जु खतिवडा थिइन्।

एस हुन्चु र ओए मगर परिचारिका थिए। आजको उडानको मुख्य भूमिकामा अञ्जु थिइन्। उनलाई पाइलट कमलले गाइड गरिरहेका थिए। पाइलट बन्नका लागि प्रशिक्षकसँग कम्तिमा एकसय घण्टा उडान भरेको हुनुपर्छ। आजको उडान सफल भएको भए अञ्जु पाइलट बन्ने थिइन्। प्रशिक्षणका रुपमा अञ्जुको यो नै अन्तिम उडान थियो। अञ्जुले पाइलट बन्नका लागि सबै विमानस्थलमा सफल उडान गरेकी थिइन्।

करिब १५ दिन अघिमात्रै उडान सुरुभएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आज मौसमको पनि कुनै समस्या थिएन्। बिहान काठमाडौं–पोखरा सफल उडान गरेको जहाज फेरि काठमाडौं आएर पोखराको लागि उडेको थियो। त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताएअनुसार सो जहाजले अवतरणको अनुमतिसमेत पाइसकेको थियो। दुर्घटनाको कारण खुल्न बाँकी रहेको उनले बताए।

अञ्जुले २०६३ सालमा यती एयरकै विमान दुर्घटनामा श्रीमान दीपक पोखेललाईसमेत गुमाएकी थिइन्। पोखरेल पनि उक्त विमानको को- पाइलट थिए। विमान दुर्घटनामा श्रीमान गुमाएकी अञ्जुले पाइलट बन्न अमेरिका गएर पढेकी थिइन् । संयोग भनौं वा दुर्भाग्य दीपक र अञ्जु एउटै कम्पनीको विमान दुर्घटनामा परे । दुवै जना को–पाइलटको भूमिकामा मात्रै रहे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot