काठमाडौं, २ माघ । नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक एवं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पूर्व महाप्रबन्धक राजकुमार क्षेत्रीले हिजोको दुर्घटनाले सबैलाई सशंकित बनाएको बताएका छन् ।
‘हिजोको दुर्घटना आन्तरिक उडानको क्षेत्रमा धेरै ठूलो क्षति हो । यसले हामीलाई सशंकित बनाएको छ । जहाजमा प्रावधिक रुपमा खराबी देखिँदैन । मौसम पनि राम्रो थियो । नयाँ विमानस्थल थियो । कमल केसी आफैंमा अनुभवी पाइलट हुनुहुन्थ्यो । ३० वर्षको अनुभव रहेका उहाँ प्रशिक्षक पाइलट पनि हो । यसको ठोस कारण पत्ता लगाएर नेपाली आकाशलाई सुरक्षित बनाउनुपर्ने चुनौती थपिएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै क्षेत्रीले भने ।
सरकारले पूर्वसचिव नगेन्द्र घिमिरेको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिसकेकाले अहिले पूर्वानुमान गर्नु जरुरी नभएको पनि उनले औंल्याए । क्षेत्रीले भने, ‘जहाज ल्यान्ड गर्न १०-१२ सेकेन्डमात्र बाँकी थियो । जहाज स्पिड कम भएर जहाज जम्मा ६-७ सय फिट माथि उडिरहेको थियो । तीन हजार फिट जति भएको भए उठाउन पनि सकिन्थ्यो होला ।’
पोखरा दुर्घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश गए पनि नेपाली आकाश एकदमै सुरक्षित रहेको दाबी पनि उनले गरे । क्षेत्रीले थपे, ‘नेपालमा दिनहुँ २ सयदेखि २५० वटा आन्तरिक उडान हुन्छन् । हिजोको घटना भवितव्य हो । यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश गएको छ । यसले हामीलाई चिन्तित बनाएको छ र घोत्लिएका छौं । एटीआर७२ जहाज हावाको डिरेक्सनले गर्दा रनवेको मोहडा चेन्ज भएको हो कि ? पूर्वबाट हावा बढी भएकाले पश्चिमबाट ल्यान्ड गर्न खोज्दा समस्या भएको हो कि ?’
आन्तरिक उडानको क्षेत्रमा सबभन्दा ठूलो दुर्घटना मानेर सरकारले राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिनु उचित भएको पनि उनले बताए ।