Logo

पोखरा विमान दुर्घटना रहस्यमय छः पूर्व पर्यटनमन्त्री



काठमाडौं, २ माघ । नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले पोखरा जहाज दुर्घटना प्राविधिक वा मानवीय कारणबाट भएको हुन सक्ने औंल्याएका छन् ।
‘प्रायः जहाज दुर्घटना भौगोलिक, मौसमी, मानवीय त्रुटि र प्राविधिक कारणबाट हुन्छन् । तर हिजोको दुर्घटना रहस्यमय छ । मौसम राम्रो थियो । पोखरा र काठमाडौंको टावरले सम्पर्कले पनि त्यो देखाउँदैन । पाइलट अनुभवी थिए । शंका गर्ने ठाउँ छैन । त्यसकारण इन्जिनको गडबडी या पाइलटले को-पाइलटलाई सिकाउने क्रममा मानवीय त्रुटिका कारण यस्तो दुर्घटना भएको हुन सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने ।
यती समूहको जहाज ८ महिनामै दुइटा दुर्घटना भयो, केही समययताका ६० दुर्घटनामध्ये १४ जहाज दुर्घटना यती समूहकै हुनुको कारण के होला भन्ने पत्रकार धमलाको प्रश्नमा पोखरेलले भने, ‘यो ज्यादै संवेदनशील कुरा हो । सन् २०१२ देखि यता भएका १०४ हवाई दुर्घटनामध्ये पोखरामा सबैभन्दा बढी दुर्घटना भएको छ । त्यसकारण भोलि जे प्रतिवेदन आउला, त्यसलाई अक्षरंश लागू हुनुपर्छ । यसमा नागरिक उड्डयन प्राधिकरण पनि संवेदनशील हुनुपर्छ ।’

पूर्वमन्त्री पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेन्टिमेन्टल भएर सार्वजनिक बिदा दिएको टिप्पणी गरे । उनले भने, ‘हिजोको दुर्घटनाले पर्यटन क्षेत्रलाई धेरै क्षति भएको छ । यसमा राष्ट्रिय शोक मात्र मनाए हुन्थ्यो, सार्वजनिक बिदा नदिए पनि हुन्थ्यो । तर प्रधानमन्त्रीले सेन्टिमेन्टल भएर यस्तो निर्णय गरेको हुन सक्छ ।’
नेपालमा मन्त्रीले चाहेर मात्र परिवर्तन नहुने दृष्टान्त पनि उनले दिए । पोखरेलले भने, ‘कर्णालीमा सिंगल इन्जिन जहाज दुर्घटना भएपछि मैले सामान ओसारपसारमा प्रतिबन्ध लगाएँ । तर अदालतले फुकुवा गरिदियो । निजी क्षेत्र कुनै निर्णय हुनासाथ अदालत जाने र अदालतले उसको पक्षमा फैसला गर्दा पनि समस्या भएको छ ।’



प्रतिक्रिया दिनुहोस्