Logo

पर्यटन उद्योगमै धक्का लाग्न सक्छः खनाल



काठमाडौं, २ माघ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले हिजोको विमान दुर्घटना सरोकारवाला संस्थाहरुबाट पर्याप्त अनुगमन हुन नसक्नुको परिणाम भएको औंल्याएका छन् ।
‘पोखरामा हिजो भयावह जहाज दुर्घटना भयो । धनजनको नोक्सानी भयो । नागरिक उड्डयन क्षेत्र निकै संवेदनशील छ । सम्बन्धित संस्थाहरुले यसको अनुगन गर्न नसक्दाको घातक परिणाम विमान दुर्घटना भएको छ । यसमा प्राविधिक र व्यवस्थापकीय कमजोरी देखिएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खनालले भने ।
अप्ठ्यारो स्थानमा दुर्घटना भएकाले उद्धारमा विलम्ब भएको पनि उनले बताए । खनालले भने, ‘अबका दिनमा दुर्घटना नहुने सुनिश्चित गरी गहिराइमा गएर छानबिन हुनुपर्छ । पीडित परिवारलाई अविलम्ब क्षतिपूर्ति दिलाउने प्रयत्न हुनुपर्छ र । यसको कारण जहाज उडाउने बेला प्राविधिक जाँचबुझ यथेष्ट गर्नुपर्छ । अन्यथा यसले नेपालको पर्यटन उद्योगमै धक्का लाग्न सक्छ ।’
हिजोको दुर्घटनाका सन्दर्भमा राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिनु उचित हुने पनि उनले औंल्याए । खनालले भने, ‘यो निकै ठूलो दुर्घटना हो । यसले सिंगो देश मर्माहत भएको छ । उड्डयन क्षेत्र प्रभावित भएको छ । पीडित परिवारलाई सान्त्वना दिनका लागि दुःख व्यक्त गर्नु आवश्यक छ र सरकारले राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिनु उचित हो ।’



प्रतिक्रिया दिनुहोस्