Logo

भुवर भवानीमा माघी मेलाको रौनक



काठमाडौँ,२ माघ । थारु समुदायको मुख्यपर्व माघीको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका स्थित भुवर भवानी मन्दिरमा ऐतिहासिक माघी मेला सुरु भएको छ ।

विसं २०१३ मा स्थापना भएको भुवर भवानी मन्दिर बाँके जिल्लाकै दोस्रो ठूलो मन्दिरको रुपमा परिचित छ । मेलामा नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत सयौँको दर्शक तथा भक्तजन आउने गरेको राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले बताइन् ।

“भुवर भवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्नसके आस्थाको गन्तव्य बन्न सक्छ”, उनले भनिन्, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”

माघी पर्वको अवसरमा प्रत्येक वर्ष लाग्दै आएको मेलालाई यसपटक महोत्सवको रुपमा सञ्चालन गरिएको मूल आयोजक समितिका संयोजक सुरज परियारले जानकारी दिए ।

उनका अनुसार, माघी मेलामा यो वर्ष राष्ट्रियस्तरका ख्यातिप्राप्त थारु कलाकारको कला प्रस्तुति रहने छ । यस वर्ष नयाँ अभ्यासको रुपमा छुट्टै स्टल राखेर थारु गाउँ सञ्चालनमा ल्याइएको छ । मेलामा करिब पाँच सय स्टल राखेर महोत्सवकै रुपमा सञ्चालन भएको छ ।

माघी पर्वका अवसरमा सञ्चालन भएको माघी मेलामा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको भुवर भवानी मेलामा थारू समुदायको कला संस्कृति झल्कने सांस्कृतिक प्रस्तुतिसमेत हुने गरेको मेलाका संरक्षक एवं वडा नं ३ का वडाध्यक्ष मीनकुमार थारुले बताए ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पोडेलले भुवर भवानी मन्दिरको ऐतिहासिक महत्व रहेको बताउँदै पुर्खौंदेखि लाग्दै आएको मेलाको महत्व अझै बढ्दै गएको बताए । उनले भुवर भवानी मन्दिर राप्ती सोनारीको प्रमुख ऐतिहासिक धार्मिक धरोहर रहेको बताउँदै यस क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नुका साथै मन्दिर क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गरे ।

उनका अनुसार, माघी पर्वको अवसरमा थारु गाउँमा हर्षोल्लासका साथ मनरोञ्जनसँगै विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् । यस्ता कार्यक्रमले सामाजिक सद्भाव र आपसी एकता कायम गर्न सहयोग पुगेको जनाइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot