Logo

यो देश जोगाउन नेताहरुको भन्दा हजार गुणा बढि योगदान राजाहरुको छ : डा. भीमार्जुन आचार्य (भिडिओसहित)



काठमाडौं, २ माघ । संविधानविद् डा. भीमार्जुन आचार्यले देश जोगाउनको लागि नेताहरुको भन्दा राजाहरुको हजार गुणा बढि योगदान रहेको बताएका छन् । हालै प्रसारण भएको ‘द प्रकाश सुवेदी शो’ को लागि पत्रकार प्रकाश सुवेदीसँगको कुराकानीमा आचार्यले यस्तो बताएका हुन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग आफूले पछिल्लो समय तीन/चार घण्टा भेटेको पनि स्मरण गराए ।

उनले सुनाए,‘मैले पहिलोपटक यो कुरा भन्दैछु-उहाँको बारेमा मेरो आफ्नै बुझाई छ, दुई/तीन वटा कुरा म भन्न चाहन्छु । यद्धपी ०६२ सालको आन्दोलनमा म आँफै पनि सडकमा आएको व्यक्ति हुँ । कुनै कारणले होईन, त्यो बेलामा उहाँले असोजमा गरेको घट्नामा नेपालीहरुको समर्थन थियो । तर, माघ १९ मा अलिक बढि गर्नुभयो उहाँले । मेरो पनि विमति रह्यो । म एउटा संवैधानिक राजतन्त्र नेपालमा चाहिन्छ भन्ने मान्छे हुँ । १९९० को संविधानमा मैले त्यसैगरि समर्थन गर्थें । अनि माघ १९ गतेको घट्ना कानून र संविधानसँग मेल खाँदैन थियो । त्यसको बावजुद पनि घट्नाहरु हुँदै गए, परिवर्तन हुँदैन गए । उहाँको दुई÷चार वटा कुरामा म अत्यन्तै सम्मान के गर्न चाहन्छु भने उहाँ राजाको भाइ हुनुहुन्थ्यो, तर नेपालको इतिहासमा उहाँ पहिले ००७ सालमै एकपटक राजा बन्नुभयो । पछि फेरि उहाँ राजा बन्नुभयो । अनि दलहरुले नयाँ व्यवस्था ल्याए, त्यसमा तपाईं/हामी सबैले साथ दियौं ।’

पत्रकार सुवेदीले बिचमै ज्ञानेन्द्रको फेरि राजा बन्ने योग छ कि छैन भनेर सोधेको प्रश्नमा आचार्यले हाँस्दै भने–‘अब ज्योतिषहरुले त योग छ भन्छन् । मलाई थाहा छैन त्यो ।’ ज्ञानेन्द्रले नारायणहिटी राजदरबार शान्तिपूर्ण तवरले छोडेकोमा भने आचार्यले प्रशंसा गरे । उनले अघि भने–‘नढाँटी भन्ने हो भने यो देश जोगाउनमा नेपालका राजाहरुको धेरै ठूलो योगदान छ, यी नेताहरुको भन्दा त हजार गुणा बढि योगदान राजाहरुको छ ।’ ज्ञानेन्द्रले चाहेको त्यतिवेला पनि नेपालका सबै नेता थुनामा जाने थिए भन्ने उनको भनाई छ । उनले पूर्वराजा ज्ञानेन्द्रमा शिष्टता धेरै रहेको र जनताले दुःख नपाउन् भन्ने सचेतता रहेको पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot