Logo

परिवारले पहिचान गरेका ४७ वटा शवलाई मेडिकल टिमले मान्यता दिएनः कास्की एसपी केसी



काठमाडौं, ३ माघ । कास्कीका प्रहरी उपरीक्षक (एसपी) अजय केसीले मौसम अनुकूल भए आज बिहान नै पोखरा जहाज दुर्घटनाका शवहरुलाई काठमाडौं पठाउने तयारी भइरहेको बताएका छन् ।
‘हामीले हिजो रातभरि घटनास्थल प्रकृति मुचुल्का, सद्गद र टिचिङ अस्पताललाई हस्तान्तरण गर्ने कानुनी प्रक्रिया पूरा गरिसकेका छौं । पोखरामा पहिचान भएकाबाहेक अन्य शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिएको १० मिनेटमै हामी एयरपोर्ट पुर्‍याउँछौं । हेलिकोप्टर तयारी अवस्थामा छ । काठमाडौंमा प्रहरी प्रधान कार्यालय र प्रहरी परिसरलाई जानकारी गराइसकेका छौं । हेरौं, मौसमले कति साथ दिन्छ ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै एसपी केसीले भने ।
अहिलेसम्म संकलन भएका ७० वटा शवमध्ये ४७ वटा शवको पहिचान हुन नसकेको पनि उनले बताए । एसपी केसीले भने, ‘हामीले संकलन गरेका ७० वटा शवमध्ये २३ वटाको पोखरामै पोस्टमार्टम गरेका छौं । दुई जनाको शव हस्तान्तरण भइसकेको छ । ४२ जनाको शव सनाखत भएको थियो । त्यसलाई मेडिकिल टिमको क्राइटेरियाअनुसार सनाखत गर्नुपर्ने रहेछ । परिवारले कानको फुली, मुन्द्रा, औठीका आधारमा शव पहिचान गरेको थियो । तर त्यसलाई मेडिकल मान्यता दिइएन । अब ४७ वटा शवको पोस्टमार्टम र डीएनए टेस्ट काठमाडौंमै हुन्छ ।’
दुर्घटना भएको तीन दिनसम्म पनि दुई वटा शव पत्ता लगाउन नसक्नुको कारण के हो भन्ने पत्रकार धमलाको प्रश्नमा केसीले भने, ‘घटनाको पहिलो दिन धेरै कठिानाइको बीचमा डोरीको माध्यमबाट गहिरो खोचमा गएर हामीले ६३ वटा शव संकलन गरेका हौं । राति पनि उज्यालोको व्यवस्था गरेर उद्धारमा लाग्यौं । शीतलहरजस्तो पानी परेको बेला थप सातवटा शव पत्ता लाग्यौं । तीनवटा सुरक्षा निकाय दुई दिन दुई रात खटिसकेको छ । ड्रोनको प्रयोग गरेर तीन वटा शव निकाल्यौं । आज पनि चारवटा ड्रोनसहित विपद् व्यवस्थापन विज्ञ टोली खटिएको छ । हामी शव सर्च गर्न कुनै कसर बाँकी राख्दैनौं ।’

 



प्रतिक्रिया दिनुहोस्