काठमाडौं, ३ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद हितबहादुर तामाङले आफू मन्त्री बन्ने वा नबन्ने भन्नेबारे केही थाहा नभएको बताएका छन् ।
‘आज मन्त्रिपरिषद् विस्तार हुने भन्ने सुनेको छु । यसबारे मलाई पार्टीले अहिलेसम्म आधिकारिक रुपमा खबर गरेको छैन । मन्त्री हुने निर्णय गरे पनि नहुने निर्णय गरे पनि पार्टीले गरेको निर्णय मैले मान्नुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै तामाङले भने ।
नेता तामाङले अब तीन प्रमुख दल नेपाली कांग्रेस, एमाले र माओवादीबीच नयाँ सहमति कायम गरेर जानुपर्ने बताए । उनले भने, ‘उच्चस्तरीय राजनीतिक संयन्त्रले सभामुख र राष्ट्रपति पद नेकपा एमालेले पाउने गरी सहमति भएको समाचार सार्वजनिक भएको छ । यदि आफ्नो सहमतिबाट दायाँबायाँ नहुने हो भने नेकपा एमाले नै जवाफदेही हुनुपर्छ । माओवादी केन्द्रले सहमति तोड्न सक्ने स्थिति छैन । तर अब प्रमुख तीन दलबीच नयाँ सहमतिमा जानुपर्ने राजनीतिक परिस्थिति छ ।’
उनले पोखरा विमान दुर्घटनालाई बेवास्ता गरेर दलहरु मन्त्रालय भागबन्डामा नलागेको दाबी पनि गरे ।