Logo

नवनियुक्त कानुनमन्त्रीलाई धमलाको प्रश्न– संघीयता खारेज गर्ने कानुन ल्याउन सक्नुहुन्छ ?



काठमाडौं, ४ माघ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले अनुभवी भएकाले विक्रम पाण्डेलाई पार्टीले मन्त्री बनाएको बताएका छन् ।
‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र श्रद्धेय नेता केपी शर्मा ओलीले हाम्रा अध्यक्ष राजेन्द्र लिङ्देनलाई के भन्नुभयो ? मलाई थाहा हुने कुरा भएन । तर पार्टीले अनुभव बटुलेका मन्त्रीबाट बाटो पहिल्याउँदा असल हुन्छ भनेर माननीय विक्रम पाण्डेलाई सहरी विकास मन्त्रालयमा पठाएको हो । अहिले जिम्मेवार मिडियाले जुन कुरा उठाइरहेको छ, त्यसमा हामी होसियारीका साथ अघि बढेका छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।
विक्रम पाण्डेलाई स्वार्थ बाझिएको मन्त्रालय किन दिनुपर्यो भन्ने पत्रकार धमलाको प्रश्नमा पूर्व आईजीपीसमेत रहेका मन्त्री प्रधानले भने, ‘मानिस सुध्रिँदैन भन्ने कुरा भएन । अनुभवलाई नकार्न सकिने अवस्था पनि भएन । हामीले कमीकमजोरीलाई सुधारेर जानुपर्ने हुन्छ । कुनै काण्डमा मुछिनु एउटा कुरा हो, त्यसमा सफाइ भएपछि हामी सबैले मान्नुपर्छ ।’
तपाईंले संघीयता खारेज गर्ने कानुन ल्याउन सक्नुहुन्छ त भन्ने अर्को प्रश्नमा कानुनमन्त्री प्रधानले भने, ‘म त्यसरी नकारात्मक ढंगले जान चाहन्नँ । म जिम्मेवार भएर नै काम गर्छु । न्यूनतम साझा कार्यक्रममा जे आएको छ, त्यसमा रहेका कानुनको अल्झोलाई सजिलो बनाउनु मेरो जिम्मेवारी हो । हात बाँधिदिने तर काम गर भन्न मिलेन । यति हुँदाहुँदै पनि हामीले आफ्नो एजेन्डा बिर्सने कुरा छैन । हामी मन्त्रीको कुर्सीमा बस्न मात्र आएकै होइनौं ।’
कुनै भ्रष्टाचारको दाग लाग्ने स्थितिमा सरकारबाट हट्ने पनि उनले बताए । मन्त्री प्रधानले भने, ‘त्यस्तो कुनै भ्रष्टाचारको पुष्ट्याइँ भयो भने हामी सरकारबाट हट्न पटक्कै समय लगाउँदैनौं । कुनै गलत काम भए मिडियाले पनि बाटो देखाउनु होला । हामी उदाहरण बन्नका लागि लागि आएका हौं । केही लिन होइन, दिन आएका हौं । हामीलाई बाटो बिराउने छुट छैन ।’



प्रतिक्रिया दिनुहोस्