Logo

गठबन्धन निर्माणमा कांग्रेस, सभामुखमा समाजवादीलाई सघाउने !



काठमाडौं, ४ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा नेकपा (एकीकृत समाजवादी)लाई सहयोग गर्ने आन्तरिक तयारी छ। अहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बराहीमा बसिरहेको पार्टी पदाधिकारी बैठकमा त्यसबारे छलफल भएको कांग्रेसका निकट स्रोतले बताएको छ।

कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने र समाजवादीलाई उम्मेदवारी दिन लगाइ आफूले समर्थन गर्ने र यसो गर्दा माओवादीले पनि साथ दिन सक्ने आँकलन छ। यस्तै उपसभामुखमा लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवार उठाएर आफूले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने रणनीति तय गरेको छ।

यस्तै, उपराष्ट्रपतिको निर्वाचनमा भने जनता समाजवादी पार्टीलाई समर्थन गर्ने कांग्रेसको रणनीति छ।

यसरी प्रस्तुत हुँदा नयाँ गठबन्धनको निर्माण हुने र माओवादीको साथमा कांग्रेसले राष्ट्रपतिको निर्वाचन जित्ने कांग्रेस नेताहरुको आँकलन छ।

कांग्रेस एकीकृत समाजवादी, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीसँग सहकार्य गर्दै गठबन्धन निर्माणमा लागिरहेको छ। र केही समयपछि यो गठबन्धलाई माओवादीले पनि साथ दिनसक्ने कांग्रेस नेताहरुको दाबी रहेको छ।

यसै विषयमा छलफल गर्न समाजवादीका अध्यक्ष माधवकुमा नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले आज बिहान देउवासँग छलफल गरेका थिए।



प्रतिक्रिया दिनुहोस्