पर्वत, ४ माघ । एउटा पनि आङ्गिक क्याम्पस नभएको पर्वतमा १३ सामुदायिक क्याम्पस सञ्चालनमा छन् । जिल्लाका सातवटै पालिकामा सञ्चालित ती क्याम्पस लामो समयदेखि आर्थिक सङ्कटमा छन् । नियमित आम्दानीको स्रोत नहुनु, विद्यार्थी सङ्ख्या न्यून हुनु, शिक्षक तथा कर्मचारीको सेवा शुल्क बढ्दै जानुजस्ता कारणले क्याम्पस धरासायी बन्दै गएका हुन् ।
फलेबास नगरपालिका–६ देवीस्थानस्थित जिल्लाकै पुरानो पर्वत बहुमुखी क्याम्पस यतिबेला करिब रु डेढ करोड ऋणको भारी बोकेर जीर्ण संरचनासहित सञ्चालनमा छ । विसं २०४१ मा स्थापना भएको उक्त क्याम्पस सञ्चालन गर्न स्थानीय अगुवाले जति सङ्घर्ष गरे त्यसपछिका दिनमा समेत उक्त क्याम्पसको आर्थिक तथा पूर्वाधारको अवस्थामा सुधार हुन नसक्दा समस्या भएको हो ।
सदरमुकाम कुश्माबजारमा रहेको गुप्तेश्वर बहुमुखी क्याम्पसको अवस्था पनि उस्तै छ । विसं २०४८ मा स्थापना भएको सो क्याम्पसलाई अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले आङ्गिक क्याम्पसको अनुमति दिएको छैन । विश्वविद्यालय अनुदान कार्यक्रममार्फत बर्सेनि रु १३ लाख हाराहारी आउने रकमले दुई प्राध्यापकलाई पारिश्रमिक दिन मुस्किल भएको छ । पूर्णकालीन र आंशिक गरी २७ प्राध्यापक, कर्मचारी पाल्न धौधौ भइरहेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले बताए ।
ग्रामीण क्षेत्रमा सञ्चालित शङ्करपोखरी क्याम्पस, त्रिभुवन बहुमुखी क्याम्पस, बहाकी क्याम्पस, जनता सुदर्शन, अन्नपूर्ण, नवजागृत, महाशिला बहुमुखी क्याम्पसलगायतमा अपेक्षित सङ्ख्यामा विद्यार्थी नहुँदा आर्थिक सङ्कट बढ्दै गएको हो । सबैजसो क्याम्पसले विज्ञानबाहेक शिक्षा, मानविकी र व्यवस्थापन विषयमा पठनपाठन गराउँदै आएका छन् । कुश्माको गुप्तेश्वरबाहेकका क्याम्पसमा स्नातक तहको मात्रै पढाइ हुन्छ । गुप्तेश्वरले गत वर्षदेखि व्यवस्थापन सङ्कायमा स्नातकोत्तरको पढाइ सुरु गरेको छ ।
शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा ग्रामीण क्षेत्रमा अध्ययन गर्नेमा अधिकांश गृहिणी, छोरीबुहारीमात्रै छन् । युवा कक्षा १२ पढेपछि विदेश जाने चलन बढेपछि गाउँमा अधिकांश छोरी–बुहारीले मात्र पढ्दै आएको शङ्करपोखरी बहुमुखी क्याम्पसका प्रमुख गोविन्दप्रसाद शर्माले बताए ।
सदरमुकामकै क्याम्पसमा पनि छात्रा विद्यार्थीको बाहुल्य छ । “सबैजसो सङ्कायमा ८० प्रतिशत छात्रा र २० प्रतिशत छात्र छन्, स्नातकदेखि माथि अध्ययन गर्ने छात्र निकै कम छन् । जिल्लाभरका क्याम्पसको परीक्षा सञ्चालन हुने गुप्तेश्वर क्याम्पसमा उपस्थित परीक्षार्थीमध्ये १० देखि १५ प्रतिशत मात्रै छात्र उपस्थिति हुने गरेका गुप्तेश्वर क्याम्पसका प्रमुख सुभास पन्तले बताए ।
न्यून विद्यार्थी सङ्ख्या, जीर्ण पूर्वाधार, अर्थाभावलगायत कारणले सामुदायिक क्याम्पसको अवस्था दयनीय छ । न्यूनतम पारिश्रमिकमा अध्यापन गराउनुपर्ने बाध्यता र त्यसमाथि पनि अर्थाभावका कारण प्राध्यापकले समयमा पारिश्रमिक पाउनसमेत मुस्किल छ । फलेवास नगरपालिकाले विगत तीन वर्षदेखि नै पालिकाभित्रका क्याम्पसलाई आर्थिक सहयोग गर्दै आएको छ । फलेवासले पर्वत क्याम्पसलाई दुई प्राध्यापकको पूर्णकालीन तथा शङ्करपोखरी र अन्नपूर्ण क्याम्पसलाई एक–एक प्राध्यापकको पारिश्रमिक बराबरको अनुदान दिँदै आएको नगरप्रमुख गङ्गाधर तिवारीले बताए ।
कुश्मा नगरभित्रका क्याम्पसले पनि अनुदान माग गरेका छन् । गुप्तेश्वर क्याम्पस सञ्चालक समितिका अध्यक्ष वसन्तकुमार कर्माचार्यले स्नातकोत्तर तहको पढाइ हुने क्याम्पसका प्राध्यापकलाई समयमा पारिश्रमिक भुक्तानी गर्न नसक्दा हिनतावोध हुने गरेको बताए । सञ्चालक समितिले कुश्मा नगरपालिकालाई आर्थिक सहायताका लागि पटक–पटक माग गरे पनि नगरपालिकाले स्थानीय सामुदायिक क्याम्पसको शैक्षिक विकासका लागि ध्यान नदिएको उनको गुनासो छ ।
कुश्मा नगरप्रमुख रामचन्द्र जोशीले स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्ने भएकाले क्याम्पसलाई सहयोग गर्न समस्या भएको बताए । कार्यपालिकामा निर्णय गरेर सहयोग गर्नलाई भने कानुनी उल्झन नहुने उनको भनाइ छ । ग्रामीण क्षेत्रका क्याम्पसमा बढीमा एक सयदेखि डेढ सयसम्म विद्यार्थी पढ्छन् । आम्दानीको मुख्य स्रोत विद्यार्थी नै हुन् । विद्यार्थीबाट एउटा क्याम्पसले बर्सेनि रु १२ लाखदेखि रु २० लाख हाराहारीमा रकम सङ्कलन हुने गरेको बताइएको छ । रासस