Logo

रहस्य नखुलेको पौराणिक घर अलपत्र



काठमाडौँ,४ माघ । धनकुटा नगरपालिका–२ स्थित सल्लेरी सामुदायिक वनभित्र रहेको एक पौराणिक घर संरक्षणको अभावमा बेवारिसे जस्तै भएको छ । हालसम्म कुनै लिखित इतिहास नभएको र किंवदन्ती मात्र भएको उक्त जङ्गल भित्रको ढुङ्गाको ओडारमा निर्मित घर वर्षौंदेखि अलपत्र अवस्थामा छ । बालबालिका र पाको मान्छे जान नसक्ने स्थानमा बनाइएको सो घर किन र कसले बनायो भन्ने रहस्यकै रुपमा रहेको बताइन्छ ।

गौँथली चराले बनाएको माटोको गुँड झैँ देखिने ढुङ्गा र माटोबाट निर्मित यो घर पहरामा रहेको ओडारभित्रको करिब सात मिटर माथिको ओडारमा बनाइको छ । केही वर्ष अघिसम्म सकुशल रहेको उक्त घरको केही भाग अहिले भत्किएको छ । घरभित्र अहिले पनि विभिन्न आकारका मानव अस्थिपञ्जर रहेका छन् ।

सो क्षेत्रको सुन्तले गाउँमा घर भएका ७१ वर्षीय भूपालबहादुर बस्नेतले परापूर्वकालमा उक्त स्थानमा पाँच कन्या बस्ने गरेको कुरा आफूले सुन्दै आएको जानकारी दिए । ती कन्या कहाँबाट र कसरी आएका थिए भन्ने नसुनेको भए पनि उनीहरुले नै जलुको र भीमसेनपातीको पातमा पानी बोकेर उक्त घर बनाएको भन्ने कुरा सुनिआएको उनले बताए । “पहिला घरमा पाँच मानव कङ्काल, माटोका भाँडा र भोटे जातका महिलाले लाउने जस्ता माला थिए”, बस्नेतले भने, “हामीले हेर्न भ्याएनौँ, पछि सङ्कटकालमा ती सबै चोरी भएछन् ।”

उक्त क्षेत्रका गाउँलेका वस्तुभाउ बाघले खाएर अति दुःख दिएपछि सो स्थानमा पञ्चकन्या देवीको पूजा गरिँदै आएको उनले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्