Logo

जनमतका मन्त्री खान क्याविनेट बैठकमा सहभागी



काठमाडौं, ४ माघ । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खान मन्त्रालयमा पुगेर पदभार ग्रहण नगरेको भनेर चर्चाको शिखरमा छन् । मन्त्रालयमा उनको दलको असन्तुष्टि छ। प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो (मंगलबार) मन्त्रिपरिषद् विस्तार गर्दा जनमतका खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । उक्त मन्त्रालयमा जनमतको असन्तुष्टि छ ।

जनमतले यसअघि कृषि वा उद्योगमध्ये एक मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर, सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा मिलाउँदा उद्योग र कृषि दुवै मन्त्रालय एमालेको भागमा परेको छ। अहिले उद्योगमा एमालेबाट दामोदर भण्डारी र कृषिमा ज्वालाकुमारी साह नेतृत्वमा छिन् । जनमतले भने रोजेको मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

उसले रोजेको मन्त्रालय नपाए दुई वटा मन्त्रालय पाउनुपर्ने अर्को शर्त राखेको छ । मन्त्रालयमा असन्तुष्टि राखेर सिंहदरबार नगएका मन्त्री खानले आज विहानमात्रै प्रधानमन्त्री दाहालसँग भेटेको चर्चा छ । अहिले भर्खरै सिंहदरबारमा सुरु भएको मन्त्रिपरिषद्को बैठकमा भने उनी सहभागी छन् । उनको यो सहभागितालाई लिएर अब समस्याको समाधान भएको हो त ? भन्ने प्रश्न पनि उब्जिएको छ ।

Photo By: Pradeep Raj Onta/RSS



प्रतिक्रिया दिनुहोस्