Logo

फागुन २५ आसपासमा राष्ट्रपतिको निर्वाचन



काठमाडौं, माघ ५ । निर्वाचन आयोगले आगामी फागुन २५ गतेको आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने हिसाबले तयारी अघि बढाएको छ ।

सरकारसँग अबका छलफल क्रममा आयोगले राष्ट्रपति निर्वाचनका लागि सोही मिति प्रस्तावित गर्ने मनस्थिति बनाएको आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।

नेपाल समाचारपत्रसँगको कुराकानीमा आयुक्त भण्डारीले भने– ‘आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन गराउने हिसाबले तयारी थालेका छौं । यद्यपि, निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग एक चरणको छलफल भइसकेको छ । अब फेरि छलफल गर्नुपर्ने देखिएको छ । दुई, तीन चरण सरकारसँग छलफल गरेपछि बल्ल निर्वाचनको मिति तोकिने छ ।’

वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी निर्वाचनको मिति तोक्नुपर्ने प्रावधान रहेको छ ।

ऐनमा यस्तो प्रावधान रहे पनि व्यावहारिक रूपमा एक जना राष्ट्रपतिको पदावधि नसकिँदै अर्को राष्ट्रपतिको निर्वाचन कसरी गर्ने प्रश्नले गर्दा माघ पहिलो साता बितिसक्दा राष्ट्रपतिको निर्वाचनको मिति औपचारिक रूपमा तय गर्न प्राविधिक रूपमा कठिनाइ भएको बुझिएको छ ।

‘तपाईंले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गराउने भन्नुहुन्छ, ऐनमा त एक महिनाअघि नै निर्वाचन गराउनुपर्ने प्रावधान छ नि’ भन्ने प्रश्नमा आयुक्त भण्डारीले भने– ‘बहालवाला राष्ट्रपति त आफ्नो पाँच वर्षको पदावधि पूरा गर्न पाउनुप¥यो । यसले गर्दा एक महिनाअघि नै निर्वाचन गराउन हतार गर्न नपर्ला ।’

नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ ।

राष्ट्रपति वा उपराष्ट्रपतिको पदमा उम्मेदवार बन्न कुनै पनि तहको सांसद बन्न आवश्यक हुन्न, निर्वाचनमा उम्मेदवार हुन संघीय संसद्को सदस्यका लागि हुनुपर्ने योग्यताका साथै कम्तीमा ४५ वर्ष उमेर पूरा भएको हुनुपर्ने तथा कुनै कानुनले अयोग्य नभएको व्यक्ति हुनुपर्नेछ । त्यसका साथ आयोगको मतदाता नामावलीमा नाम भए पुग्छ । तर, प्रस्तावक र समर्थक पाँच र पाँच जना भने निर्वाचन मण्डलका सदस्य अर्थात् सांसदहरूबाटै हुनुपर्ने व्यवस्था छ ।

नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचनको प्रावधान रहेको छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद्का सदस्य र मण्डलबाट हुने संविधानमा उल्लेख गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली प्रकाशन गर्नेछ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot