काठमाडौं, ५ माघ । गृहमन्त्री रबि लामिछानेले पुष २७ गते राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा सुरक्षाकर्मीको हत्या आरोपमा फरार रहेका सांसद् लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न आईजिपीलाई फोन गरिसकेको बताएका थिए। तर सासंद् महतो भने संसद् बैठकमा भने आवत जावत गरिरहेका हुन्छन्।
एमालेबाट सांसद्मा निर्वाचित महतो मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन्।
२०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। जनकपुर उच्च अदालतले ०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्याएर कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो। त्यसयता उनी फरारको सूचीमा छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन संसद् भवनमा रहेका महतो आजपनि सभामुखको निर्वाचनमा मतदान गर्न संसद् भवन छिर्ने सम्भावना रहेको छ।
प्रचण्डलाई विश्वासको मतदिने बेला नचिनेर पक्राउ गर्न नसकेको बताएका गृहमन्त्री लामिछाने र प्रहरीले के आज उनीलाई चिन्न सक्छ?