Logo

कांग्रेसलाई राष्ट्रपति दिने गरी सहमति हुन्छः माओवादी नेता



काठमाडौं, ५ माघ । नेकपा (माओवादी केन्द्र) का सचिव दिनानाथ शर्माले सभामुख निर्वाचनमा पूर्व सहमति कार्यान्वयन भए पनि राष्ट्रपतिमा सर्वमान्य व्यक्तित्वको छनोट हुने बताएका छन् ।
‘हामीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष लगायत बाँकी सबै पदमा राष्ट्रिय सहमति गरौं भनेका हौं । त्यसनिम्ति प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको पनि हो । त्यसनिम्ति अधिकतम प्रयत्न भइरहेकै छ । सभामुखमा पूर्व सहमति जे हो, त्यही गर्छौं । सभामुखको निर्वाचनपछि त्यस्तो वातावरण बन्न सक्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने ।
सबभन्दा ठूलो दल नेपाली कांग्रेसले पुस २६ मा सरकारलाई विश्वासको मत दिएपछि राष्ट्रिय सहमतिको वातावरण बन्दै गएको पनि उनले बताए । शर्माले थपे, ‘सबै विषयमा कमसेकम प्रमुख दलहरुबीच सहमति गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । त्यसका निम्ति राष्ट्रपतिमा सर्वमान्य व्यक्तित्वको छनोट गरौं भन्ने चर्चा हुन थालेको छ । त्यसैले कांग्रेसको पक्षमा सहमतिको वातावरण बनाउने गरी पहल कदमी लिन हामी सकारात्मक छौं । सहमति भएन भने के हुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, भएन भने हामी त्यही बेला सल्लाह गर्छौं ।’
२३ दिनपछि बनेको मन्त्रिपरिषदको निकै आलोचना भयो नि भन्ने अर्को प्रश्नमा उनले भने, ‘लोकतन्त्रमा आलोचना र विरोध हुन्छ । यो नै यसको सुन्दरता हो । मुख्य कुरा परिणाममा हेर्ने हो । परिणाम दिन सकिएन भने त्यो सरकारको कमजोरी हुन्छ । मन्त्री भएका सबै जना जनताले छानेका प्रतिनिधि हुन् । दलले सिफारिस गरेका व्यक्तिलाई नै प्रधानमन्त्रीले मन्त्री बनाउने हो । जनताबाट उठेका प्रश्नमा गम्भीर भने हुनपर्छ ।’
गठबन्धन दलमै दरार आयो नि भन्ने अर्को प्रश्नमा नेता शर्माले भने, ‘नेतृत्व हाम्रो भए पनि सरकारमा हामी मात्र छैनौं । अलि खुला र स्पष्टसँग अघि बढ्नुभन्दा पनि व्यक्तिका आग्रह पूर्वाग्रहका आधारमा निर्णय हुँदाखेरि समस्या आयो । सरकारमा मधेसवादी शक्तिको बलियो उपस्थिति हुनुपर्छ भन्ने थियो । फेरि पनि सहमति कायम गरेर सबैलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने हुन्छ ।’
उनले नागरिक उन्मुक्ति पार्टीलाई रेशम चौधरीको रिहाइका लागि एकदुई हप्ता धैर्य गर्न आग्रह पनि गरे । शर्माले थपे,’ हामीले उहाँको रिहाइका लागि देउवाजीको पालामा अध्यादेश ल्याएको पनि हो । सभामुख निर्वाचन भएपछि हामी फेरि पनि प्रयत्न र पहल गर्छौं ।’



प्रतिक्रिया दिनुहोस्