Logo

२४ मैदा मिलले भारतबाट ३० हजार टन गहुँ ल्याउने



विराटनगर, माघ ६ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल मैदा उद्योग संघको सिफारिशका आधारमा २४ ओटा मैदा मिललाई भारतले निर्यात अनुमति दिएको ५० हजार मेट्रिक टन गहुँमध्येबाट ३० हजार ४ सय ८९ टन ल्याउन कोटा बाँडफाँट गरेर अनुमतिका लागि भारतीय दूतावासमा सिफारिश पठाएको छ ।

दूतावासले भारतीय वाणिज्य मन्त्रालयलाई पत्र पठाएपछि उद्योगीले आफ्नो सम्पर्कमा रहेका भारतीय व्यापारीसँग किनेर गहुँ ल्याउनेछन् ।

मन्त्रालयका प्रवक्ता डा। नारायण रेग्मीले भारतले नेपालमा निर्यात गर्ने अनुमति दिएको ५० हजार मेट्रिक टनमध्येबाट २४ उद्योगको नामै तोकेर ३० हजार ४ सय ८९ टन मार्च (चैत १५) सम्ममा ल्याइसक्ने गरी सिफारिश गरिएको बताए । उनका अनुसार बाँकी गहुँ आयातका लागि व्यवसायीलाई कोटा दिइनेछ ।

भारतले १० महीनाअघि रूस–युक्रेन युद्ध र उत्पादनमा आएको कमीलाई कारण देखाउँदै गहुँ निकासीमा प्रतिबन्ध लगाएको थियो । त्यसबाट भारतीय गहुँमा निर्भर नेपाली उद्योग प्रभावित भएका छन् । भारत विश्वका ठूला गहुँ उत्पादक मुलुकमध्येको एक हो ।

भारतको निर्यात प्रतिबन्धअघि नेपालमा ५० रुपैयाँ किलो रहेको मैदाको भाउ ७० रुपैयाँ पुगेको छ । त्यस्तै ५५ रुपैयाँ किलोको आँटाको भाउ ७६ रुपैयाँ, ६० रुपैयाँ किलोको सुजीको भाउ ८० रुपैयाँ र ३८ रुपैयाँ किलोमा पाइने चोकरको मूल्य ४६ रुपैयाँ पुगेको छ । भारतबाट गहुँ आयात गर्न पाए सबै उत्पादनको मूल्य १५ प्रतिशतले घट्ने उद्योगी बताउँछन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्