Logo

मृत्युदण्ड हुन्छ भन्दापनि भ्रष्टाचार अन्त्य हुन गाह्रो छ: रामनारायण बिडारी



काठमाडौं, ६ माघ । वरिष्ठ अधिवक्ता एवं पूर्व राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले भ्रष्टाचार अन्य गर्नु गाह्रो विषय भएको बताएका छन् ।

बिहिबार ललितपुरमा गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीहरुको बृहत चुनावी सभालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार नियन्त्रणसम्म हुन सक्ने तर अन्त्य गर्न गाह्रो रहेको बताएका हुन् ।

लतितपुर बारको निर्वाचनमा सहभागी भएको गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीहरुको चुनावी घोषणा पत्रको बुँदाका बारेमा बोल्दै उनले भने– ‘भ्रष्टाचार अन्त्य गर्ने भनेको रहेछ, त्यो चाहिँ बडा गाह्रो विषय हो । भ्रष्टाचार नियन्त्रणसम्म हुनसक्छ । चाइनामा भ्रष्टाचार गर्नेलाई मृत्युदण्ड छ । दिनदिनै मृत्युदण्ड पाइरहेका छन् । मृत्युदण्ड दिन्छु भन्दा पनि भ्रष्टाचारको अन्त्य हुँदोरहेन छ ।’

साथै, नेपालका न्यायधीशहरु भ्रष्टाचारीलाई उन्मुक्ति दिनतर्फ लाग्ने गरेको उनको आरोप छ । ‘यहाँ सर्वोच्चका न्यायाधीश, जिल्लाका न्यायाधीश, विशेष अदालतका न्यायाधीश भ्रष्टाचारीलाई के गरी उन्मुक्ति दिने भनेर बाटो खोज्छन्,’ उनले भने । ।

न्यायलय भित्रको भ्रष्टाचार, विकृति र कानुन व्यवसायीहरुको समस्या लगायतका मुद्धामा केन्द्रीत हुन पनि उनले गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीका उम्मेदवार समक्ष आग्रह गरे ।

लतितपुर बार एशोसियनको निर्वाचनमा गणतान्त्रिक, प्रगतिशील पेशागत कानुन व्यवसायीबाट अध्यक्षमा राम श्रेष्ठ, उपाध्यक्षमा बाबुकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रिता शेर्पा, कोषाध्यक्षमा रमेश कुमार महर्जन लगायत १५ सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर बार एशोसियनको निर्वाचन माघ ७ गते हुँदै छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot