Logo

अस्पतालको विल भुक्तानीमा समेत अब कृषि विकास बैंकको क्यू.आर. कोड



काठमाडौं, ६ माघ । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोवारमा विगतदेखि जोड दिँदै आइरहेको छ । बैंकका आफ्ना एक्सटेन्सन काउन्टर सञ्चालन गरेका अस्पताल तथा कलेजहरुमा यो सेवा उपलब्ध हुँदै आइरहेको बैंकले जनाएको छ ।

विशेषगरी सिभिल अस्पताल, काठमाण्डौं र वि.पि. कोइराला क्यान्सर अस्पताल, भरतपुर, चितवनका सेवाग्राहीले यी अस्पतालको विलमा भएको भुक्तानीका लागि क्यू.आर.कोड स्क्यान गरी सहज रुपमा भुक्तानी गर्न सक्नेछन् । यो सेवाको विस्तार पश्चात अस्पतालमा सेवा लिन जाने सेवाग्राहीहरु नगद बोकेर लैजाने झन्झटबाट मुक्त हुनेछन् ।

बैंकको मोवाइल बैंकिङ सेवाको माध्यमबाट तथा फोन पे नेटवर्कमा आबद्ध विभिन्न बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले क्यू.आर. कोड स्क्यान गरी सेवाग्राहीको सेवाशुल्क सिधै अस्पतालको खातामा जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।

यस प्रकारको सेवाले अस्पताललाई नगद व्यवस्थापन गर्न सजिलो भएको छ भने हिसाव कितावमा पनि भुलचुक कमहुने, छिटोछरितो हुने र पारदर्शिता समेत रहेको अस्पतालको अनुभव रहेको छ । यसरी अस्पतालको व्यवस्थापन र सेवाग्राही दुबै बैंकको यस सेवा प्रति सन्तुष्ट रहको अस्पतालले जनाएको छ ।

बैंकको ५६औं वार्षिकोत्सवको अवसरमा बैंकले विद्युतीय कारोवारलाई प्राथमिकता दिई डिजिटल नेपाल बनाउन योगदान दिने उद्धेश्यले यस्तो योजना ल्याएको कुरा निमित्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीले जानकारी बताएका हुन् ।

क्यू.आर.कोडबाट भुक्तानी गर्दा ग्राहकको कारोवार पूर्ण रुपमा सुरक्षित हुने र कारोवारमा फरक परेमा हिसाव मिलान पनि सहज हुने कुरा बैंकको डिजिटल बैंकिङ विभागकका विभागीय प्रमुख गिरीराज रेग्मीले वताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot