Logo

सभामुख र उपसभामुख एउटै गठबन्धन, एउटै प्रदेश, एउटै जिल्ला र एउटै पालिकाको हुन मिल्दैनः मुक्ताकुमारी यादव



काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका तर्फबाट उपसभामुख पदकी उम्मेदवार मुक्ताकुमारी यादवले सात दलीय गठबन्धनकी उम्मेदवार इन्दिरा राना मगरलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेकी छन् ।
‘सत्ता गठबन्धनका तर्फबाट देवराज घिमिरे सभामुखमा निर्वाचित हुनुभयो । उहाँ कुन प्रदेशको हो ? सभामुख र उपसभामुख एउटै गठबन्धन, एउटै प्रदेश, एउटै जिल्ला र एउटै पालिकाको हुन मिल्दैन । यो संविधानको धारा ९१ (२) सँग कत्तिको मेल खायो कि खाएन ? अझै पनि समय छ । माननीय इन्दिरा राना मगरले आफ्नो उम्मेदवारी फिर्ता लिएर मलाई सहयोग र समर्थन गर्न सक्नुहुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भनिन् ।
सत्ता गठबन्धनको बहुमत भएको स्थितिमा उम्मेदवारीका लागि तपाईंको उम्मेदवारी किन भन्ने पत्रकार धमलाको प्रश्नमा सांसद यादवले संसद्भित्र शक्ति सन्तुलन मिलाउन र संविधानको सफल कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारिन् । उनले थपिन्, ‘यसकारण मलाई दलभन्दा माथि उठेर सहयोग गर्ने आधार छ । सभामुख पुरुष भएपछि लिंग फरक हुनु पर्यो कि परेन ? अझ म त मधेसी महिला हुँ । त्यसैले मधेसवादी पार्टीहरु मात्र होइन, सत्तारुढ पार्टीहरुले पनि यसमा ह्वीप लगाउनु हुँदैन र माननीयज्यूहरुले स्वतन्त्र रुपमा मलाई मतदान गर्नुहुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’
साथै उनले आफू उपसभामुखका लागि उपयुक्त पात्र भएको पनि दाबी गरिन् । यादवले भनिन्, ‘म गाउँबाट संघर्ष गरेर आएकी महिला हुँ । पढेलेखेको छु । गाउँको हुँ । तेस्रो चोटि सांसद भएको छु । पार्टीको केन्द्रीय सदस्य पनि हुँ । सबै खाले अनुभव मसँग छ । आफ्नो जितका लागि म विश्वस्त छु र उपसभामुखको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्न सक्छु ।’

 



प्रतिक्रिया दिनुहोस्