काठमाडौं, ७ माघ । सात दलीय गठबन्धनकी उपसभामुख उम्मेदवार इन्दिरा राना मगरले समयको आवश्यकता अनुसार आफू प्रतिस्पर्धामा उत्रिएको बताएकी छन् ।
‘मैले उपसभामुखमा बाजी मारेको होइन । मैले उपसभामुख त के, सांसद बन्ने पनि सोचेकी थिइनँ । समयको आवश्यकता र सबैको सहमतिबाट उम्मेदवार भएकी हुँ । सविता गौतमजी प्रधानमन्त्री बन्ने क्षमताको नेतृ हुनुुहुन्छ । कानुनमन्त्री बनाउने कुरा पनि आएको थियो । त्यसैले यस पटक उहाँ मेरो प्रस्तावक बन्नुभयो, मेरो धन्यवाद छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मगरले भनिन् ।
धेरै वर्ष सामाजिक क्षेत्रमा काम गरेकाले आफू उपसभामुखका लागि उपयुक्त रहेको पनि उनले दाबी गरिन् । उनले भनिन्, ‘पार्टीमा भिजेर वा लामो समय राजनीति गरेर आएकी होइन । जेलका बालबालिकाका निम्ति लामो समय काम गरिरहेकी छु । म उपसभामुख भएर पनि त्यो काम गर्न सक्छु । पहिचानविहीन बालबालिकाका पक्षमा कानुन बनाउन सहयोग गर्न सक्छु । यो पदमा रहेर मैले मैले जनताको न्यायका लागि फराकिलो भएर काम गर्न सक्छु ।’
सभामुख र उपसभामुख एउटै जिल्लाको पर्नु संयोग भएको पनि मगरले बताइन् । उनले थपिन्, ‘म विचार गरेर पदमा आएको होइन । सभामुख र उपसभामुख एउटै जिल्लाको हुनु संयोग मात्र हो । मलाई लाग्छ, म सही भूमिकामै छु । म तटस्थ भएर काम गर्न सक्षम छु ।’
स्वार्थ बाझिएका व्यक्ति मन्त्री भएका बारेमा आफूले केही जवाफ दिन नसक्ने पनि मगरले बताइन् । उनले भनिन्, ‘काम गर्ने क्रममा विवाद भएको हुन सक्छ । तर कुनै पनि कुरालाई एकतर्फबाट मात्र हेर्नुहुन्न । सत्यतथ्य समयले आफैं निर्धारण गर्छ ।’