काठमाडौं, ७ माघ । जनमत पार्टीले सरकारमा रहने वा नरहने भन्नेबारे भोलिसम्म निर्णय गर्ने भएको छ । आफ्नो दलले भनेको र भएको सहमतिबमोजिम मन्त्रालय नपाएको भन्दै जनमतले भोलिसम्म प्रधानमन्त्री पुष्पकमल दाहाललाई पर्खिने भएको छ । अहिले जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खान मन्त्रालयमा कार्यभार सम्हाल्न गएका छैनन् ।
जनमतले यसअघि उद्योग वा कृषिमध्ये एक मन्त्रालय मागेको थियो । सुरुमा प्रधानमन्त्री दाहालले जनमतलाई उद्योग मन्त्रालय दिने सहमति जनाएका थिए । तर, मन्त्रिपरिषद् विस्तार गर्दा भने खानलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको थियो । यसबारेमा अध्यक्ष सिके राउतले असन्तुष्टि राखेका छन् । उक्त निर्णय सच्याउन प्रधानमन्त्री दाहाललाई उनले भोलि (आइतबार) सम्मको अल्टिमेटम दिएका छन् ।
आज (शनिबार) उपसभामुखको निर्वाचनमा भाग लिने क्रममा नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खानले पनि भोलिसम्म आफूहरुको माग पूरा गर्ने आश्वासन पाएको भन्दै भोलिसम्म पर्खिने बताए । उनले भोलिसम्म आफूहरुले भनेजस्तो नभए सरकारबाट फिर्ता हुने बताए ।