प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना निर्वाचित भएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो ।
सभामुख देवराज घिमिरेले मतविभाजनको परिणाम सार्वजनिक गर्दै उनलाई उसपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा उपस्थित सङ्ख्याको बहुमत पुगेकाले राना उपसभामुख पदमा निर्वाचित भएको घोषणा गरे ।
उक्त प्रस्तावको विपक्षमा जम्मा ९७ मत खसेको थियो । मतदानमा जम्मा दुई सय ६४ मत खसेको थियो । एक जनाले भने मत दिएनन् । रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत देखिएकाले अर्को प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिएन ।
रास्वपाका उम्मेदवार थापाको प्रस्तावकमा सोही दलका सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का नारायणी शर्मा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजेन्द्र लिङदेन थिए । नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवको प्रस्तावकमा कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र समर्थकमा नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल थिए ।
यसअघि कांग्रेसका अर्जनु नरसिंह केसी, रुपा सोशी चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही, जनता समाजवादी पार्टी, नेपालका राजकिशोर यादव, नेकपा (एकीकृत समाजवादी) का अम्मरबहादुर थापा र जनमत पार्टीका गोमा लाभ (सापकोटा) ले आ–आफ्ना पार्टीले समर्थन गरेका उपसभामुखका उम्मेदवारको पक्षमा मत दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामप्रकाश चौधरी, नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि आ–आफ्नो धारणा राखेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही माघ १० गते मङ्गलबार अपराह्न १ बजे बस्नेछ ।
उपसभामुख रानाको संक्षिप्त चिनारी
इन्दिरा राना
जन्म : वि.सं. २०२७ असार १८ गते
बुवा : प्रताप सिंह मगर
आमा : मनमया मगर
ठेगाना : अर्जुनधारा नगरपालिका वडा नं. ११, झापा
आबद्ध राजनीतिक दल : राष्ट्रिय स्वतन्त्र पार्टी
सम्मान
अशोका फेलो २००५
एसिया २१ योङ लिडर पब्लिक सर्भिस अवार्ड २००९
वल्र्ड चिल्डे«न प्राइज अनररी अवार्ड २०१४
बीबीसी उत्कृष्ट १०० महिला २०१७
‘द वन’ रोटरियन ह्युम्यानेटरियन सर्भिस अवार्ड २०२० मा मनोनित
संघर्षपूर्ण बाल्यकाल
पूर्वी नेपालको झापामा गरिब जनजाति परिवारमा जन्मिनुभएकी रानाको बाल्यकाल निकै कष्टकर र संघर्षशील रुपमा बितेको थियो । उहाँले औपचारिक शिक्षाको शुरुवात १० वर्षको भइसकेपछि मात्रै शुरुवात गर्नुभएको थियो । विद्यालय जाने समयमा उहाँ गोठालो जाने, घाँस दाउरा गर्ने जस्तो अवस्थाबाट गुज्रिनुभएको थियो ।
नर्स हुने इच्छा भएपनि आर्थिक अभावका कारण उहाँले अरुको घरमा बालबच्चा हेरचाह गर्दै कलेज तहको पढाइ पूरा गर्नुभएको थियो । कलेज तहकको पढाइकै सिलसिलामा साहित्यकार पारिजातसँग भेट भयो । पारिजातसँगको भेटपछि उहाँले समाजसेवातर्फ लाग्नुभएको थियो ।
उहाँकै प्रेरणाबाट प्रभावित भएर वि.सं. २०५७ सालमा बन्दी सहायता नेपाल संस्था खोलेर जेलमा रहेका बालबालिकाहरुको शिक्षादीक्षामा समर्पित भएर लाग्नुभयो । विगत ३० वर्षदेखि शुरु भएको उहाँको जेलरहित असल समाज निर्माण गर्ने अभियान अहिले पनि जारी छ ।
उक्त संस्थामार्फत् अहिले काठमाडौंको साँखुमा जूनकीरी स्कुल (बालगृह) सञ्चालनमा रहेको छ । उक्त बालगृहमा देशका विभिन्न जेलमा बन्दी जीवन बिताइरहेका कैदी बन्दीहरुका ८४ जना बालबालिकाहरुले सुरक्षित आश्रय लिइरहेका छन् ।
झापाको खुदुनाबारीमा बालगृह, जूनकीरी पुस्तकालय, जूनकीरी प्राथमिक विद्यालय, मनमाया बालगृह र जंगल गार्डेन बालगृह सञ्चालन । पाल्पा मदनपोखरामा आमा पाराडाइज होम युवा तालिम केन्द्र स्थापना ।