Logo

गैँडा मार्न विद्युतीय धराप



चितवन, माघ ८ गते । गैँडा सिकारीले गैँडा मार्ने परम्परागत शैलीमा परिवर्तन ल्याएका छन् । खाग तस्करीका लागि गोली हानेर गैँडा मार्ने परम्परागत शैली परिवर्तन गर्दै तस्करले विद्युतीय धरापलाई गैँडा मार्ने माध्यम बनाउन थालेका हुन् ।

त्यसैको पछिल्लो घटना चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा पर्ने नवलपरासीको अमलटारी इलाकामा शुक्रबार भएको छ । उक्त घटनामा एकै पटक माउ र बच्चा गैँडा विद्युतीय धरापमा पारेर मारिएका छन् ।

दुवै गैँडाको खाग र खुर छैन । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा विजय श्रेष्ठ पछिल्लो समय गैँडा मार्न विद्युतीय धराप प्रयोग हुने गरेको बताए । “खाग, खुर नभएको गैँडा विद्युतीय धरापमा मारिएको अवस्थामा भेटिनुले चोरी सिकारीले गैँडा मार्ने शैली परिवर्तन गरेको पुष्टि हुन्छ,” उनले भने ।

गाउँ–गाउँमा बिजुली पहुँच पुगेकाले त्यसलाई तस्करले हतियार बनाएको देखिन्छ । यस घटनाले वन्यजन्तुको चोरी सिकार नियन्त्रणमा थप चुनौती थपिएको छ । गत असोज २७ गते निकुञ्जबाहिर सौराहानजिकै मध्यवर्ती क्षेत्रमा विद्युतीय धरापमा पारेर गैँडा मारिएको थियो ।

त्यस्तै २०७८ मङ्सिर २७ गते चितवनको भरतपुर महानगरपालिका–१६ स्थित नारायणी नदीकिनारमा मृत अवस्थामा भेटिएको गैँडा पनि विद्युतीय धरापमै पारेर मारिएको पोस्टमार्टम टिपोर्टमा उल्लेख छ । पोस्टमार्टम गर्ने चिकित्सक डा श्रेष्ठले धमाधम गैँडा मारिँदै जानु संरक्षणका लागि चुनौती भएको बताए ।

गैँडाविज्ञ तथा चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवले यसरी नै गैँडा मारिँदै जाने हो भने सकिन धेरै समय नलाग्ने बताए । “पहिला–पहिला आफ्नो खेती बचाउन स्थानीयले खेतबारीमा थापेको विद्युतीय धरापमा परेर धेरै गैँडा मरेका हुन् तर चोरी सिकारीले नै प्रयोग गरेको पहिलो पटक अहिले भेटियो,” उनले भने ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्ज क्षेत्रमा चालू आर्थिक वर्षको पाँच महिनामा ११ वटा गैँडा मरेका छन् । तीमध्ये चार चोरी सिकारीले मारेका हुन् । तीमध्ये पनि विद्युतीय धरापमा मारिएका तीनवटा छन् ।

चितवन निकुञ्जमा चोरी सिकारीले पछिल्लो चार वर्षमा कुनै पनि गैँडा मार्न नसकेका बेला गत वर्षदेखि पुनः सक्रियता बढाएका हुन् । गत वर्ष चारवटा गैँडा चोरी सिकारीले मारेकामा यो आर्थिक वर्षको पाँच महिनामै चारवटा गैँडा चोरी सिकारीले मारेका छन् ।

यसले सुरक्षा व्यवस्था कमजोरी पुष्टि गर्छ । शनिबार मात्रै निकुञ्जकै पश्चिमी क्षेत्रमै पर्ने सिसबार क्षेत्रमा एक बच्चा गैँडा मृत भेटिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot